भर्खरै : Sorry, your browser does not support inline SVG.

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई सामान्य सोधपुछपछि घर पठाइयो

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई सामान्य सोधपुछपछि घर पठाइयो

काठमाडौं, २६ जेठ। अमेरिकाबाट डिपोर्ट (फिर्ता पठाइएका) भएका ३७ जना नेपाली नागरिकलाई नेपाल फर्किएपछि सामान्य सोधपुछ गरेर घर जान दिइएको छ। अमेरिकामा अवैधानिक रूपमा बसोबास गरिरहेका ५ महिला र ३२ पुरुषलाई ओम्नी एयरको चार्टर्ड उडानमार्फत नेपाल ल्याइएको हो ।

उक्त उडानमा भारत र बंगलादेशका नागरिकहरू पनि रहेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि ती नेपालीलाई प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले सामान्य सोधपुछ गरेको थियो।

अमेरिका पुग्ने क्रममा मानव तस्करीको संलग्नता वा गिरोहको भूमिकाबारे अनुसन्धान गर्न चासो राखिएको ब्युरोले जनाएकाे छ । हालसम्म कुनै औपचारिक उजुरी (जाहेरी) दर्ता नभएकोले उनीहरूलाई सोधपुछपछि घर जान दिइएको जनाइएको छ।

यदि उजुरी प्राप्त भएमा, अमेरिका पठाउने गिरोहबारे विस्तृत अनुसन्धान हुने प्रहरीको भनाइ छ। यसअघि पनि अमेरिका डिपोर्ट भएका ९ नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले आफ्नो कार्यालयमा लगेर सोधपुछ गरेको थियो, तर ती व्यक्तिहरूले आफूलाई अमेरिका पठाउने एजेन्ट वा दलालहरूको बारेमा जानकारी दिन अस्वीकार गरेका थिए।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिको रूपमा निर्वाचित भएपछि आप्रवासी नीति कडा बनाइएको छ । त्यसयता डिपोर्ट हुने नेपालीको संख्या बढ्दै गएको छ। हालसम्म अमेरिकाबाट डिपोर्ट भएका नेपालीको संख्या १७७ पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.