बुढेसकालको साहरा अस्तायो, भाइबहिनी भए बेसहाराः हाेला त दाेषीलाई कारबाही ?

बुढेसकालको साहरा अस्तायो, भाइबहिनी भए बेसहाराः हाेला त दाेषीलाई कारबाही ? image

काठमाडौं । दैलेखको महाबु गाउँपालिका–६ का भक्त राउतको मृत्यु भएको एक वर्ष बित्न नपाउँदै प्रहरीको गोली प्रहारबाट छोरा सुजन राउतको मृत्यु भयो । यो खबरले दैलेख मात्र हैन, पुरै देशलाई दुखेको छ ।

अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा २२ वर्षीय वीरेन्द्र शाह पनि प्रहरीको गोलीले ढले । शाहले विदेश जाने बेला बुवाआमालाई काठमाडौंमा बिदाइका लागि बोलाउने बचन दिएर काठमाडौं आएका थिए । तर, उनी कहिल्यै नफर्कीने गरी अस्ताएका छन् ।

सरकारले देशभित्रै रोजगारीको प्रबन्ध गर्न सकेकोे भए आज यी युवाहरुको अनाहकमा ज्यान जाने थिएन ।

भाइबहिनीलाई पढाउने सपना समाप्त भयो
गत वर्ष दैलेख महाबु गाउँपालिका–६ का ४५ वर्षीय भक्त राउत काम गर्दागर्दै अचानक ढले । तत्कालै जिल्ला अस्पताल लगिएको भए पनि अस्पतालले मृत घोषणा गर्यो ।

उनी उच्च रक्तचापले ढलेका रहेछन् । यो २०७९ को कुरा हो । भक्तबहादुरको गाउँमै सानो भाँडापसल थियो । उनी बितेपछि श्रीमती नन्दाको टाउकोमा आइपुग्यो परिवारको सबै दायित्व ।

श्रीमानको निधनले विक्षिप्त भएकी उनीसँग २२ वर्षीय जेठा छोराको मुख हेरेर चित्त बुझाउनुको विकल्प थिएन । उनका अरु छोराछोरी सानै छन् ।

परिवारको दायित्व जेठा छोरा सुजनको थाप्लोमा आयो । त्यसपछि उनी रोजगारीको लागि काठमाडौं भौँतारीए । काठमाडौंमा भने जस्तो रोजगारी र पाएको रोजगारीबाट परिवार धान्न धौधौ परिरहेको अवस्थामा उनले कोरिया जाने सोच बनाए ।

भाषा परीक्षा पढ्न थाले । उनको साथमा काकाका छोराहरु पनि काठमाडौं आएका थिए । गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई खुशी बनाउनु थियो । साना भाइबहिनीलाई पढाउनु थियो । तर, उनी कोरिया जान पाएका थिएनन् ।

एक वर्ष भइसक्दापनि भाषा परीक्षामा सहभागी हुन नपाएका उनी अब कहिल्यै कोरिया जाने छैनन् । भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलन चल्यो ।

सोही क्रममा शुक्रबार उनी काठमाडौंको बालकुमारीमा भएको आन्दोलनमा सहभागी भए । प्रहरीसँगको मुठभेडमा उनीमाथि गोली लाग्यो । ठाँउको ठाउँ उनको मृत्यु भयो । अब आमा र भाइबहिनीलाई खुसी दिने उनको सपना सँधैका लागि सपना नै रह्यो ।

सुजनको कोरिया जाने सपना बिलाएसँगै परिवारको एक मात्र आशाको दियो निभेको छ । उनकी विधवा आमा नन्दाको बुढेसकालको खम्बा कहिल्यै नउठ्ने गरी ढलेको छ । कलिला भाइबहिनीको सहारा भत्किएको छ ।

साथीहरुको साथ टुटेको छ । गाउँ नै अँध्यारो भएको छ । पढाइमा जेहेन्दार सुजन पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुचि राख्थे । अहिले उनको निधनले सिङ्गो गाउँ शोकमा छ ।

भरोसा कोरिया नपुग्दै ढल्यो
अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोराका रुपमा जन्मीएका वीरेन्द्र शाह कोरिया पुग्ने सपनासँगै अस्ताए ।

२३ वर्षीय वीरेन्द्र दसैंमा घर पुगे वृद्ध अवस्थाका बुवाआमालाई विदेश जाने गरी बिदा भएर काठमाडौं फर्केका उनी बिदेश जाने सपनासँगै कहिल्यै नउठ्ने गरी ढले । शरीरको एक भागमा प्यरालाइसिस भएर थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको भरोसा नै वीरेन्द्र थिए ।

आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना बोकेर २ वर्षअघि उनी काठमाडौं आएका थिए । सिउडी माविबाट २०७८ मा कक्षा १२ सम्मको अध्ययन गरेका वीरेन्द्रले डडेलधुराबाट भेटनरी जेटिए पनि पढेका थिए ।

गाउँमै बसेर जागिर गर्ने भनेर नै भेटेनरी जेटिए पढेका शाह आफूले पढेको विषयले जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं आएका उनका छिमेकी हजुरबुवा एवं सिउडी माविका प्रधानाध्यापक बमबहादुर शाहले बताए ।

वीरेन्द्रका दाई लामो समयदेखि सपरिवारसहित भारतमा रहेका कारण पनि उनी बृद्ध आमाबावुका साहराका रुपमा रहेका थिए । वीरेन्द्रका बुवालाई हातमा प्यारालाइसिस भएको धेरै भइसक्यो ।

दुःख गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले शाह परिवारमा सम्हालिन कठिन भएको छ । आमा बेहोस भएकी छन् । जागिर दिनको सट्टा निरीह राज्यले गोली ठोकेर मृत्यु दियो भन्दै गाउँ शोकमग्न भएको छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon