भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो |

जंगली जनावरको आतङ्क रोक्न ९५ लाख खर्चेर तारजाली जडान

जंगली जनावरको आतङ्क रोक्न ९५ लाख खर्चेर तारजाली जडान

शुक्लाफाँटा नगरपालिकाको जंगली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ। ५.८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुन लागेको हो।

जंगली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नं ८ र वडा नं १२ मा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए। यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन्।

प्रदेश सरकारको समपूरक अनुदान ७५ लाख र नगरपालिकाको ७५ लाख गरी एक करोड ५० हजारमध्ये ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्रमुख धामीले बताए।

उनका अनुसार मेसवायर जडानको हालसम्म दुवै वडामा गरी ५१ प्रतिशत कार्य प्रगति भएको छ। वडा नं १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार ९०० मिटर र वडा नं ८ मा वडा कार्यालयबाट दक्षिणतर्फ गरी दुई हजार नौ सय मिटर मेसवायर जडान हुने भएको छ। ‘वडा नं १२ मा मेसवायर जडान ६० प्रतिशत जति सकिएको छ,’ उनले भने, ‘दुई किलोमिटर मेसवायर जडान भइसकेको छ, नौ सय मिटरमात्र जडान गर्न बाँकी छ, वडा नं ८ मा एक किलोमिटर जति मेसवायर जडानको कार्य पूरा भएको छ भने एक किलोमिटर नौ सय मिटर मेसवायर जडान हुन बाँकी छ।’

दुई महिनाभित्र मेसवायर जडानको काम पूरा गर्ने लक्ष्य लिइएको छ। ‘हात्ती, निलगाई, चित्तल, बँदेललगायत जंगली जनावरले खेतबारीमा पसेर लगाएको बालीनाली सबै सखाप पार्दै आएका छन्”, वडा नं १२ का बासिन्दा गेंदुराम रानाले भन्नुभयो, ‘मेसवायर जडानकार्यले जंगली जनावरको आतङ्क रोकिनेमा विश्वस्त छौं।’

वडाध्यक्ष नबलसिंह रानाले हात्तीले यस क्षेत्रमा स्थानीय किसानको बालीनालीमा क्षति पुर्याउनुका साथै मानवीय र भौतिक क्षति प्रत्येक वर्ष निम्त्याउँदै आएकाले त्यसलाई रोक्न मेसवायर जडान भइरहेको बताए। मेवायर जडानकार्यले हात्ती नियन्त्रण हुनुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा हिंस्रक बाघ, चितुवालगायत जनावरले किसानले पालेका घरपालुवा जनावरमा पुर्याउँदै आएको क्षति कम गर्नमा सघाउ पुग्ने उनले बताए।

वडा नं ८ मा हात्ती र जंगली बँदेलले किसानलाई बर्सेनि निकै हैरानी दिँदै आएकामा त्यसलाई रोक्न मेसवायर जडानले सहयोग पुर्याउने वडाध्यक्ष बहादुरसिंह महरा बताउँछन्। यसअघि जंगली जनावरलाई बस्तीमा छिर्नबाट रोक्नका लागि नगरपालिको ठाउँठाउँमा साइरन जडान गर्नुका साथै उज्यालोका लागि बत्ती जडान गरेको छ।

नगरपालिकाको वडा नं ७ र ६ मा विभिन्न दातृ निकायको सहयोगमा मेसवायर जडान गरिएको छभने वडा नं ५, ४, ३, २ र १ मा मेसवायर जडानका लागि कार्य अगाडि बढाइने बताइएको छ। नगरपालिकाको उत्तर, दक्षिण, पश्चिमतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको छभने पूर्वतर्फ लालझाडी संरक्षण क्षेत्र र सामुदायिक वनसँग सीमा जोडिएको छ।

चारैतिर ठुल्ठूला वनको सीमा जोडिँदा नगरपालिकाका सबै वडा जंगली जनावरबाट प्रभावित हुँदै आएका छन्। रासस

 


Thali Mobile Pvt.Ltd.