भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

दूध बेचेर मासिक रु ६ लाखसम्म आम्दानी

दूध बेचेर मासिक रु ६ लाखसम्म आम्दानी

बागलुङ । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन् । 

बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनी यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन् ।

निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका सापकोटा बनेका छन् । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ । सापकोटाले उत्पादन गरेकोदूध आफैँ बजारीकरण गर्दै आएका छन् ।

“भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दूध बिक्री गर्दै आएको देखेको थिएँ, त्यहीँबाट मैले गाईभैँसीपालनमा चासो दिएको थिएँ, विसं २०६७ मा जन्मथलो मालिकाबाट तीनवटा भैँसी र एउटा गाई लिएर अमबोट आएपछि दुईवटा भैँसी थपेर फार्म स्थापना गरेँ, अहिले फार्मको पूर्वाधारसहित रु एक करोड लगानी पुगिसक्यो”, उनले भने, “निरन्तर मेहनत र पशुपालन व्यवसायको अनुभवका कारण आज सफल भएको छु, अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु ।”

व्यवसायी सापकोटाले गाई तथा भैँसीको खरिद बिक्रीसमेत गर्दै आएका छन्। उनको फार्ममा ५२ सम्म गाईभैँसी भएको सुनाए । उनका दुईवटा ठूला गोठमा गाईभैँसी छन् । दैनिक एक सय ६० लिटर दूध उत्पादनपश्चात बजारीकरण गर्दै आएका सापकोटा मासिक रु पाँचदेखि छ लाखसम्मको आम्दानी र मासिक रु एक लाखसम्म बचत गर्दै आएको बताउछन् ।

पशुपालनमा आम्दानी भए पनि खर्च धेरै हुने उनको अनुभव छ । पशुपालनमा जोखिम बढी हुने भएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफल भइने सापकोटाको भनाइ छ ।

“दूधको बजारीकरणमा समस्या छैन, बागलुङ बजारको घरदैलो र फार्मबाटै बिक्री हुन्छ, हामीले घरदैलोमा पुगेर दूध पुर्याउँदै आएका छौँ, मैले ड्राइ सिजनमा बढी दूध बिक्री गर्दै आएको छु”, सापकोटाले भने, “भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र बागलुङ नगरपालिकाले प्राविधिक रूपमा सहयोग गरिरहेका छन्, प्याक्ट परियोजनामार्फत विसं २०७३ मा रु १० लाख अनुदान पाएर एउटा आधुनिक गोठ बनाएको थिएँ, निरन्तरता भएमा सहयोग पनि आउँछ, पछिल्लो समय फार्म स्थापनाका लागि गरिएका राज्यका प्रोत्साहनले किसान हौसिए पनि टिक्न नसकेको पाइयो ।”

उनले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिँदा मात्र वास्तविक किसानले लाभ लिने बताए । उनले बागलुङ बजारसहित पर्वत र म्याग्दीबाट समेत दूधको माग आउने बताए । अहिले बजारमा दूधको मूल्य रु एक सय २० प्रतिलिटर छ । रासस

 


Thali Mobile Pvt.Ltd.