झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव पक्राउ

झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव पक्राउ

काठमाडौं, १२ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साह १० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।

अख्तियारका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई घुस मागिएको भन्ने सूचना तथा उजुरीपछि आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार विशेष निगरानी गरेको थियो।

अनुगमनका क्रममा वडा सचिव साहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गौरीगञ्ज गाउँपालिका–१ स्थित एक होटलबाट रंगेहात नियन्त्रणमा लिइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका साहमाथि भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.