रमणीय खमै डाडाँ यात्रा, जसले स्वर्गीय स्मरण गराउँछ ……………..

रमणीय खमै डाडाँ यात्रा, जसले स्वर्गीय स्मरण गराउँछ …………….. image

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ मा अवस्थित खुमै डाडाँ पर्यटकीय दृष्टीकोणमा चर्चित ठाउँ हो । छोटो समयमा सामाजिक सञ्जालमार्फत चर्चा बटुल्न सफल यो डाडाँ पुग्न पोखराबाट छोटो दुरीमा पर्ने पदमार्ग हो । यो पदमार्ग जान करिब १२ वर्ष अघिबाट नै उत्सुक्ताले भरिएको थियो । मन भएर के गर्नु समय पनि त मिलाउनु प¥यो । जुन बेला यस ठाउँको चर्चा खासै थिएन अनि यहाँसम्म पुग्न सुविधापनि थिएन ।

बल्ल बल्ल समय मिलाएर आएको त यहा मानिसको घुईचो अर्थात यहाँको मनोरम दृश्यमा रमाउँन आउँने पर्यटकको घुइचोलोले मन झनै आनन्दित बनाउँदो रहेछ । माछापुच्छ्रे पदमार्ग पोखराबाट हेङ्गजा हुदै घाचोक, सरिपाखासम्म मोटरमा र त्यसपछि सरिपाखाबाट पैदल हिडेर पुगिन्छ । पोखराबाट खारपानी, मिर्सागाउँ, रुम्जागाउँसम्म आनन्दले मोटरबाटो र त्यसपछि पैदलमार्ग भएर करिब तीन घण्टा यात्रा तय गर्नुपर्छ ।

यदि रुम्जागाँउबाट जाने हो भने एकै दिनमा पोखराबाट खुमै हुदै कोर्चाङसम्म पुग्न सकिन्छ । सरिपाखाको बाटो भएर जाँदा सरिपाखा, हिले, चिचिम्ले, देउराली, नाच्ने देउराली, खुमै र कोर्चाङसम्म पुगिन्छ । रुम्जाको बाटोबाट जान हो भने रुम्जासम्म मोटरबाटो छ । त्यसपछि पैदल मार्ग हुँदै देउराली, नाच्ने देउराली, खुमै र कोर्चाङ पुगिन्छ । यहि पदमार्गबाट अलि जोखिम उठाउँने हो भने मार्दी हिमाल र अन्नपूर्ण आधारशिविर पुग्न सकिन्छ ।

हाम्रो यात्राः
बिहान ६ बजे पोखराबाट हाम्रो यात्रा सुरु भयो । लामाचौर, भुर्जुङखोला, तातोपानी (खारपानी), मिर्साहँुदै रुम्जा गाउँसम्म बाईकमा र रुम्जाबाट पदमार्ग हुदै करिब साढे चार घण्टाको रमाइलो यात्रामा जङ्गल, गोठहरु, भैसी, भेडाहरुको बथान विच देउराली, नाच्ने देउरालीबाट खुमै डाडाँ पुगियो । डाडाँमा ४/५ वटा होटल निर्माण भइरहेका थिए । अन्य होटलमा पदयात्रीलाई खाना र वासको राम्रौ प्रवन्ध मिलाइएको रहेछ । हामी त्यहाँ पुग्ने वितिकै साथिहरुले राम्रो स्वागत तथा सत्कार गर्नुभयो ।

खुमै पुगेर सूर्योदयको दृश्यले सबैको मन लोभ्याउने गर्दछ । सबेरै उठेर खुमैबाट तीन घण्टामा पुगिने कोर्चाङ यात्रा तय गर्न सकिन्छ । हामीले पनि दुःख पीडा सहेर भएपनि यहाँ पुग्दा यो यात्राले सबै पीडा भुलाई दियो । मौसम अनुसार फरक फरक स्वरुपमा बदलिने विभिन्न रंगका लालिगुराँस फुलेको हेर्ने र हिउँ खेल्न सकिने रहेछ यहाँ । ३ हजार ६ सय ८२ मिटर उचाइमा रहेको कोर्चाङबाट हिमाल सहजै नियाल्दा साँच्चिकै स्वार्गीय आनन्द प्राप्त हुने रहेछ ।

नजिकै देखिने अन्नपूर्ण र माछापुच्छ«े हिमालले त मनै आनन्दिन बनाइदिन्छ । छोटो समयमा हिमाल र ट्रेलको मज्जा लिन खुमै ट्रेल एक उत्तम गन्तव्य रहेछ । जसलाई ग्रेट माछापुच्छ्रे ट्रेल पनि भनिदो रहेछ । यहाँँ खान र वस्नको लागि धेरै होटलहरु छन् । जसमध्य होटल खुमैडाडाँ भर्खरै सञ्चालनमा आएको रहेछ । यहाँको स्वागत सत्कारले हाम्रो यात्रालाई झन मजवुत र आत्मीय बनाइ दियो । नयाँ होटल तर सेवा र सुविधामा उत्कृष्ट रहेछ ।

अत्येन्त मिलनसार यस होटलका सञ्चालकले सधै आइरहने सम्बन्ध स्थापित गरिदिनु भयो । हामी मात्रै होइन, यहाँ आउने पर्यटकलाई खान बस्नका लागि राम्रो प्रवन्धले गर्दा नै यहाँ सबैको मन लोभ्याएको हो । अरु होटलमा सेवा सुविधा कम छ भन्ने हाम्रो भनाइ होइन । अन्यत्र रुम नपाएर बिचलित भएका पर्यटकलाई पनि यहाँ राम्रो व्यवस्था मिलाइने रहेछ । होटल परिवारले गर्ने व्यवहारले हाम्रो मन छोयो ।

करिब १३ वर्ष अघिसंगै सहकार्य गरेको याद आयो । त्यसैले पनि होला हामीलाई छुटै खालको स्वागत तथा सत्कार पस्किनु भयोकि भन्ने लाग्यो तर त्यसो रहेन छ । यहाँ आउँने जोकोहिका लागि उहाँहरुको सत्कार स्मरण योग्य नै रहेछ । यो यात्रा हामी सदा स्मरणमा राखिरहने छौं ।
परिचय
माछापुच्छ्रे गाउँपालिका कास्की जिल्लामा अवस्थित छ । ‘पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधारः समुन्नत माछापुच्छ्रे निर्माणको मूल आधार’ भन्ने नारालाई अंगिकार गरेको माछापुच्छ्रे गाउँपालिका नेपाल सरकारको स्थानीय तह गठन आदेश, २०७३ बमोजिम गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा गठन भएका पाँच स्थानीय तह मध्ये यो तेस्रो ठुलो स्थानीय तह हो ।

समुद्र सतहबाट न्यूनतम १ हजार २६ मिटर उचाइ देखि अधिकतम माछापुच्छ्रे हिमाल ६ हजार ९ सय ९८ मिटर उचाइसम्म उत्तर–दक्षिणमा फैलिएर रहेको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो गाउँपालिकाका अधिकांश स्थानबाट सुन्दर मनोरम हिमशृङ्खला तथा हरिया पहाडको दृश्यावलोकन गर्न सकिन्छ । माछापुच्छ्रे हिमाल यसै गाउँपालिकामा छ । यसै हिमालको नामबाट माछापुच्छ्रे गाउँपालिका रहेको हो ।

भौगोलिक अवस्थिति
कूल क्षेत्रफल ५४४.५८ वर्ग कि.मि. रहेको यस गाउँपालिका विश्व मानचित्रमा ८३ डिग्री ४३’ देखि ८३ डिग्री ९२’ पूर्वी देशान्तर र २८ डिग्री १८’ देखि २८ डिग्री ३९’ उत्तरी अक्षांशमा रहेको छ । साविकका ८ वटा गाउँ विकास समितिलाई मिलाएर बनेको माछापुच्छ्रे गाउँपालिको पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा पोखरा लेखनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका रहेका छन् ।

वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा कास्कीका साविक माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङघलेल गाउँ विकास समितिहरूलाई समेटेर माछापुच्छ्रे गाउँपालिका घोषणा गरिएको हो । माछापुच्छ्रे गाउँपालिकको कूल जनसङ्ख्या २१ हजार ८ सय ६८ रहेको थियो । २०७८ को जनगणना अनुसार कूल जनसंख्या २२ हजार ८ सय ९८ रहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda