भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘भूमिमाथिको ज्यादती रोकौँ, मानवको अस्तित्व जोगाऔँ’

‘भूमिमाथिको ज्यादती रोकौँ, मानवको अस्तित्व जोगाऔँ’

काठमाडौँ । पृथ्वी र मानव जीवनको अस्तित्व धानेको माटो भूमिको संरक्षणमा युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले राजधानीमा आजदेखि ‘भूमि हाम्रो भविष्य’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । माटो संरक्षणको क्षेत्रमा क्रियाशील ‘ल्याण्ड आवर फ्युचर’ संस्थाले आयोजना गरेको उक्त सम्मेलनमा भूक्षय, वन विनाश, जलवायु परितर्वनबाट कृषि, जल र खाद्य क्षेत्रमा देखिएको सङ्कट तथा वातावरण एवं जैविक विविधतासम्बन्धी विषयमा छलफल हुनेछ ।

सम्मेलनको उद्घाटन सत्रमा सहभागीले रासायनिक मल र विषादीको जथाभावी प्रयोग अन्त्य गरेर भूमिमाथिको ज्यादती रोक्नुपर्नेमा जोड दिएका थिए । भूमिको संरक्षण नै प्राकृतिक संरक्षण रहेको उल्लेख गर्दै उनीहरुले भूमि विषाक्त हुँदा पृथ्वी र सिङ्गो मानव जीवनको अस्तित्व खतरामा परेको बताए । भूमिबिना मानव अस्तित्व कल्पना गर्न नसकिनेमा जोड दिँदै सहभागीले युवावर्गले माटो जोगाउनका लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

सम्मेलनमा माटो जोगाउने अभियानकर्मी, विज्ञ एवं वातावरण, जलवायु, वन, कृषि तथा कानुन विषय अध्ययनरत विद्यार्थीको सहभागिता रहेको छ । सम्मेलनमा भर्खरै सम्पन्न जलवायु सम्मेलन ९कोप–२८० का निर्णय कार्यान्वयन र अगामी कार्यदिशालगायत विभिन्न पाँच विषय क्षेत्रभित्र बृहत छलफल हुनेछ । कोप–२८ को उपलब्धि, जलवायु सङ्कटसँग जुधिरहेको नेपालको कमजोरी तथा कोप–२९ मा नेपालले उठाउनुपर्ने विषयमा छलफल हुने सम्मेलनका संयोजक अविनभ चौधरीले जानकारी दिए ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री गणेश साहले जलवायु परिवर्तनको असर सबैभन्दा बढी प्रभाव युवा पुस्ताले नै व्यहोर्नुपर्ने भन्दै युवापुस्ता वातावरण तथा जैविक विविधतामा संरक्षणमा सक्रिय हुनुपर्नेमा जोड दिए । उनले जैविक विविधता संरक्षण तथा फोहोर व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।

ऊर्जा सङ्कट र ऊर्जा सुरक्षा अहिलेको प्रमुख मुद्दा बनेको उल्लेख गर्दै उनले नवीकरणीय ऊर्जा, माटो, पानी, खाद्य सुरक्षामा युवा जनशक्ति क्रियाशील हुनुपर्ने बताए । “युवामा ठूलो जिम्मेवारी छ, पृथ्वीको भविष्य युवाकै हातमा छ”, पूर्वमन्त्री साहले भने, “माटो संरक्षणको विश्वव्यापी जिम्मेवारी पूरा गर्न युवापुस्ता लाग्नुपर्छ ।”

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दिगो विकासको लक्ष्य र जलवायु परिवर्तनका विषयमा विश्वको ध्यान केन्द्रित भएको बताए । उनले हरेक क्रियाकलापलाई वातावरण मैत्री बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील पाँच युवालाई युवा सम्मान प्रदान गरिएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.