भर्खरै : Sorry, your browser does not support inline SVG.

एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित

एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित

पोखरा, ६ साउन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र आर्थिक वर्ष २०८२/०८३ मा लेक लागेर (उच्च हिमाली रोग) २५ जनाको मृत्यु भएको छ। एक्याप कार्यालय पोखराका अनुसार सबैभन्दा धेरै मृत्यु मुस्ताङ जिल्लामा भएको छ।

एक्यापका निर्देशक डा. रविन कडरियाका अनुसार मुस्ताङमा मात्रै १५ जनाको लेक लागेर मृत्यु भएको छ। मृतकमध्ये मुक्तिनाथ क्षेत्रमा ८ भारतीय र ४ नेपाली, दामोदर कुण्डमा १ नेपाली, लोमन्थाङमा १ नेपाली तथा टुकुचेमा १ मेक्सिकन नागरिक रहेका छन्।

त्यस्तै मनाङमा ८ जनाको लेक लागेर मृत्यु भएको छ। तीमध्ये नार–फु क्षेत्रमा ३ नेपाली भरिया/गाइड, अन्नपूर्ण चक्रपथमा १ नेपाली गाइड, १ नेपाली पर्यटक, १ भारतीय, १ जापानी र १ सिंगापुरका नागरिक रहेका छन्।

यसैगरी, गत आर्थिक वर्ष मार्दी हिमाल क्षेत्रमा १ स्पेनी नागरिक तथा अन्नपूर्ण आधार शिविर (एबीसी) जाने मार्गमा १ नेपालीको पनि लेक लागेर मृत्यु भएको एक्यापले जनाएको छ।

लेक लागेका घटनाबाहेक पदयात्रा र हिमाली क्षेत्रमा भएका दुर्घटनामा थप ५ जनाले ज्यान गुमाएका छन्। भारी हिमपातका कारण मनाङमा हराएका २ भारतीय पर्यटक मृत फेला परेका थिए। त्यस्तै हिमलुङ हिमालमा १ अष्ट्रेलियाली पर्वतारोही, मार्दी हिमाल पदमार्गमा १ नेपाली पदयात्री र खोप्रा पदमार्गमा लडेर १ जर्मन पदयात्रीको मृत्यु भएको थियो।

एक्यापले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लाग्ने जोखिमबारे विशेष सावधानी अपनाउन आग्रह गरेको छ। निर्देशक डा. कडरियाले उचाइमा बिस्तारै यात्रा गर्न, शरीरलाई वातावरणसँग अनुकूल हुन समय दिन र लेक लागेको लक्षण देखिएमा तुरुन्त तल्लो स्थानतर्फ झर्न सुझाव दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.