भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रा.लि. र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए ।

यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवले बताए ।

उनले भने,“निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ । ”

पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए ।

“देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ”, उनले भने, “तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।” बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उनले बताए ।

जनसम्पर्क अधिकृत गिरीले बिगत पाँच वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा छ हजार चार सय ८४ जना नयाँ क्यान्सरका बिरामीको उपचार भएको जानकारी दिए । चेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण र दुर्गम क्षेत्रका क्यान्सर बिरामीले उपचार पाउनबाट अझै वञ्चित हुनुपरेको उनको भनाइ छ ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकीय जनशक्ति भएका कारण अस्पतालमा देशका कुनाकाप्चा र विदेशबाट समेत उपचार गराउन आउनेको सङ्ख्या बर्सेनि बढिरहेको उनले बताए । विगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका आठ सय १४ जना र फोक्सो क्यान्सरका आठ सय पाँच जनाको उपचार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा यादवले जानकारी दिए । पाठेघरको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।

गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्चमा सहुलियत पुर्याउने उद्देश्यले निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौताले अस्पताल धाइरहेका सेवाग्राहीलाई खुसी तुल्याएको मोरङको रतुवामाई नगरपालिका–५ का टीकाराम शिवाकोटीले बताए । उनले चार महिनादेखि पत्नीको फोक्सो क्यान्सरको उपचार सोही अस्पतालमा गराइरहेका छन् ।

बिरामीलाई अस्पताल लैजान र घर ल्याउन रतुवामाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराइरहेको उनले बताए। “हुनेखानेका लागि अस्पताल जान सवारी साधनको कठिनाइ नहोला, तर गरिब परिवारका लागि खर्चकै अभावले बेलैमा अस्पताल पुग्न कठिन हुनसक्छ”, उनी भन्छन्, “विपन्न र असहाय बिरामीका लागि अस्पतालले यातायात र औषधोपचारमा सहुलियत गरिदिनै पर्छ ।”

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरिब परिवारले सरकारको विपन्नता नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत रु एक लाखसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि अलग्गै रु दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.