भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा

तनहुँ, २५ असार। तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको र केही दिनभित्रै यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।

कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ । उनले भने, “स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन ।”

यो स्थान पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ ।

सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए । ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । उनले भने, “गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ ।”

ऐना पहराबाट गाउँपालिकाले रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐना पहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ ।

यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत आयोजना प्रतिवेदनअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । रासस

 


Thali Mobile Pvt.Ltd.