भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

बागलुङ । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो ।

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम सङ्ग्रहालय परिसरमा आन्तरिक पर्यटकका सयौँ सवारी साधन देखिने गरेका छन् । पर्यटक बढेपछि कालिका मन्दिर परिसरमा पार्किङ व्यवस्थापनमा पनि हम्मे पर्न थालेको छ । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन सिकार आरक्ष पुग्ने पर्यटकमा समेत वार्षिक रुपमा वृद्धि भएको छ ।

विराटनगर र पोखराबाट शैक्षिक भ्रमण, देशका विभिन्न भागका श्रद्धालु तीर्थयात्रीका रोजाइमा बागलुङका धार्मिक एवं पर्यटकीय गन्तव्यहरु पर्न थालेका छन् । हरेक दिन धार्मिक पर्यटकीयस्थल पञ्चकोट तथा बालाजीधाम मन्दिर कुडुँलेस्थित शालग्राम सङ्ग्रहालयमा देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूको लर्को लाग्न थालेको छ । गत वर्ष एक लाखभन्दा बढी पर्यटकले शालग्राम सङ्ग्रहालयको दर्शन गरेका स्थानीय अर्जुन सापकोटाले जानकारी दिए ।

उनले नयाँ वर्ष २०८२ को पहिलो दिन कुडुँलेको शालग्राम शिलामा अहिलेसम्मकै धेरै पर्यटक आएको बताए । उनले चैते दसैँयता विद्यालय तथा क्याम्पसले विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि विभिन्न स्थानमा लैजाने गरेकामा अधिकांश पोखरा क्षेत्रबाट भ्रमणका लागि यहाँ आएको बताए ।

“नयाँ वर्षमा आन्तरिक पर्यटकका कारण शालग्राम सङ्ग्रहालयमा टेक्ने ठाउँ थिएन, त्यसयता बिदाको समयमा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ, सदरमुकामबाट जम्मा चार किमीमा रहेको सङ्ग्रहालय अवलोकनका लागि आउने ५० प्रतिशत पर्यटक मुस्ताङसमेत पुग्ने गरेका छन्”, उनले भने।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिरलगायत बागलुङ नगरपालिका आसपासका पर्यटकीयस्थलमा मुक्तिनाथ हिँडेका तथा शैक्षिक भ्रमणका लागि पर्यटक आउनेक्रम वृद्धि भएको छ । चैतेदसैँ र वडादसैँमा भीड हुने कालिका मन्दिरमा नयाँ वर्षसहित अन्य दिनमा पनि भीड लाग्न थालेको छ । चैतेदसैँयता छ लाख पर्यटक भित्रिएका छन् ।

पर्यटनका हिसावले बागलुङ राम्रो भन्ने सुनेर सातदिने शैक्षिक भ्रमणका क्रममा एक दिन बागलुङलाई छुट्याएर आएको हेटौँडाका राम मर्हजनले जानकारी दिए । उनले बागलुङको पञ्चकोट, कुडुँलेको शालग्राम सङ्ग्रहालय र कालिका मन्दिर दर्शनका लागि आएको बताए । भ्रमण टोली पोखरा घुमरे बागलुङ हुँदै म्याग्दी र मुस्ताङ जाने योजना रहेको उनले बताए ।

मुस्ताङ हिँडेका पर्यटकलाई बागलुङका पर्यटकीय गन्तव्यले आकर्षित गर्न थालेको पर्यटन व्यवसायी बताउँछन् । शैक्षिक भ्रमण तथा घुम्न आउने पर्यटकका कारण बागलुङका होटल यात्रीले भरिएका व्यवसायी अर्जुन चोखालले बताए । नेपालका सय पर्यटकीय गन्तव्यको सूचीमा पञ्चकोट र बागलुङ कालिका समावेश हुनु तथा पर्यटन व्यावसायीको सक्रियताले बागलुङमा आन्तरिक पर्यटकको आगमन बढेको हो । रासस

 

 


Thali Mobile Pvt.Ltd.