भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन् ।

‘स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो,’ उनले भनिन्, ‘माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका छौँ ।’

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र स्थानीय प्रहरीसँग मिलेर नगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको बताइन् ।

भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको घोलमा डुबाउने गरिएको गुनासो आएको जनाउँदै उनले त्यसलाई रोक्न मरेका माछा बिक्रीमा कडाइ गरिएको बताइन्। नगरपालिकाले हानिकारक रसायन फर्मालिन प्रयोग गरेको र मरेका माछा बिक्री भएको थाहा भएमा नगरपालिकामा तत्काल खबर गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

पाँच वर्षअघि झापाको बिर्तामोड नगरपालिकाले फर्मालिन रसायनको प्रयोग भएका माछाको बिक्री वितरणमा रोक लगाइसकेको छ । झापामा माछापालन उत्साहजनक रहेको र स्थानीय उत्पादनले नै खपत धान्ने भएकाले भारतबाट आयातित मरेका माछाको बिक्रीमा रोक लगाउनु पर्ने उपभोक्ताले माग गर्दै आएका छन् ।

उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष शालिकराम भट्टराईले फर्मालिन रसायनको प्रयोग मानव स्वास्थ्यका दृष्टिले अत्यन्त घातक भएकाले माछामा मात्र नभएर जुनसुकै खाद्यपदार्थमा यसको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताए ।

उनले विर्तामोड र शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछाको बिक्री वितरणलाई रोक लगाउन गरेको निर्णय स्वागतयोग्य रहेको जनाउँदै पूर्ण कार्यान्वयनका लागि उपभोक्ता संस्थाका प्रतिनिधि र विज्ञको टोलीको सहयोगमा नियमित अनुगमन आवश्यक रहेको बताए । रासस

 


Thali Mobile Pvt.Ltd.