भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

स्वस्थानी व्रतकथा सुरु

स्वस्थानी व्रतकथा सुरु

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार देवीदेवतालाई पुज्न माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् ।

धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् । स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको बताउँछिन् । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रुपमा कार्यरत छिन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ ।

बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।

आफू बसेको स्थानकी देवी देवताको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ । देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.