भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ठेकेदारहरूसँग मिलेमतो गरी सिँचाइ विभागका इन्जिनियरले थुपारे पाँच करोड सम्पत्ति

ठेकेदारहरूसँग मिलेमतो गरी सिँचाइ विभागका इन्जिनियरले थुपारे पाँच करोड सम्पत्ति

काठमाडौं । गैरकानुनी पाँच करोड रुपैयाँ सम्पत्ति आर्जनको आरोपमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनी विरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विभाग र अन्तर्गतका कार्यालयहरूमा कार्यरत श्रेष्ठले ठेकेदारहरूसँग मिलेमतो गरी कमिसन लिएर भ्रष्टाचारजन्य गतिविधिबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले छानबिन गरेको हो ।

अख्तियारले श्रेष्ठसहित सम्पत्ति जफत प्रयोजनका लागि परिवारका सदस्यलाई पनि प्रतिवादी कायम गरेको छ । सार्वजनिक सेवा प्रवेश गरेको ३० असार ०४६ देखि ३१ असार ०७७ सम्मको अवधिको आम्दानी र खर्चको हिसाब निकालेको थियो । श्रेष्ठसहित मातापिता र छोराछोरीको आम्दानी पनि अख्तियारले केलाएको छ । जाँच अवधिमा श्रेष्ठको तलबभत्ताबापतको आम्दानी ३२ लाख तीन हजार २७६ रुपैयाँ छ ।

त्यस्तै, पिता हरिकुमार श्रेष्ठको तलबभत्ताबापत दुई लाख ८२ हजार ४०४ र उपदान बिदाबापतको ६ लाख २२ हजार ८६२ रुपैयाँ देखिएको छ । पत्नी लक्ष्मीकुमारीको १३ लाख ६६ हजार ३७५, छोरीको तीन लाख ३१ हजार पाँच सय र छोराको ११ लाख ७९ हजार ४६० रुपैयाँ पारिश्रमिक आयलाई पनि आम्दानीमा जोडिएको छ । पैतृक र आर्जित दुवैका गरेर जग्गा बिक्रीबाट एक करोड ८९ लाख ६३ हजार ३६ रुपैयाँका अतिरिक्त श्रेष्ठले लगानी गरेका विभिन्न कम्पनीहरूको मुनाफा आम्दानी २० लाख ८३ हजार ६३७ रुपैयाँ निस्किएको छ ।

२१ लाख ४९ हजार ९३२ को कृषि आम्दानी, सात करोड १७ लाख १७ लाख ६७ हजार ९६७ को बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा आय, घरबहालको ३३ लाख ८१ हजार ५८६, बिमा परिपक्व आय दुई लाख १० हजार ५४५, बैंकब्याज आय दुई लाख पाँच हजार ७७०, जग्गा बिक्रीको बैनाबापत ९७ हजार दुई सय र सेयर बिक्री आय ६४ लाख ७९ हजार ४८४ रुपैयाँ देखिएको छ । यी सबै गरेर श्रेष्ठको कुल आम्दानी ११ करोड २५ लाख ६५ हजार १९९ रुपैयाँको हिसाब अख्तियारले निकालेको छ ।

यो स्रोत खुलेको वैधानिक आम्दानी हो । खर्चतर्फको विस्तृत हिसाब विवरण पनि अख्तियारले निकालेको छ । जसअनुसार जाँच अवधिमा श्रेष्ठको एकासंगोल घर परिवारको नाममा पाँच करोड ३२ लाख आठ हजार ९४४ रुपैयाँबराबरको जग्गा खरिद भएको छ । त्यस्तै, घर निर्माण लागत एक करोड १२ लाख ६९ हजार ५३५, कम्पनी स्थापना तथा सञ्चालन खर्च ३२ लाख, शैक्षिक तथा अध्ययन खर्च ३० लाख ४३ हजार ७६८,

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा भुक्तानी सात करोड ३१ हजार ७७८, सेयर खरिद रकम एक करोड ३२ लाख ५५ हजार ४४५ रुपैयाँ खर्च देखिएको छ । यसैगरी, व्यक्तिगत वैदेशिक भ्रमणमा १४ लाख ४० हजार, कम्पनीको कर भुक्तानी रकम ६० हजार ७९०, बिमा प्रिमियम किस्ता भुक्तानी पाँच लाख ८५ हजार १६५, विद्युतीय उपकरण खरिद एक लाख पाँच हजार, नौ लाखको सुन खरिद र बैंक मौज्दातमा ११ लाख ८६ हजार १३१ रुपैयाँ देखिएको छ ।

सबै शीर्षकमा गरेर श्रेष्ठको कुल खर्च तथा लगानी १६ करोड १३ लाख ९५ हजार ५२८ रुपैयाँ निस्किएको छ । कुल खर्च तथा लगानीबाट आम्दानी घटाउँदा निस्किएको चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँबराबरको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.