भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

बेनीका तीन वटा धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति सुरु

बेनीका तीन वटा धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दी, ५ असार। जिल्लाको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । गलेश्वर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्व कालमा ऋषि मुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए ।

जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ । म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइँ लम्बाउने र स्थानीयवासीको सहजताका लागि गण्डकी प्रदेश सरकारमार्फत गलेश्वरबाट पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति गर्न थालिएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।

“गलेश्वरस्थित बेनी–जोमसोम–कोरला खण्डलाई फराकिलो पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, नाली, पर्खाल निर्माण र ढलान गर्ने योजना छ”, उनले भने, “अहिलेको ठेक्काबाट गलेश्वर–काउलेगौँडा क्षेत्रमा स्तरोन्नति हुनेछ । बाँकी खण्डमा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा पहल गरेका छौँ ।”

गण्डकी प्रदेश सरकारले रु तीन करोड ५९ लाख ९८ हजार बजेटको स्रोत सुनिश्चित गरेको उक्त आयोजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरि छनोट भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता भएको योजनामार्फत बेनी–९ मा ढलान र ग्राभेलसहित स्तरोन्नति हुने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।

उनका अनुसार तीन सय मिटर ढलान र एक हजार ७०० मिटर ग्राभेलसहित स्तरोन्नति हुनेछ । गत असारमा सम्झौता गरेको ठेकेदार कम्पनीले काउलेगौँडा–कोसेपानी क्षेत्रमा डोजर परिचालन गरेर सडक फराकिलो बनाउने काम थालेको छ । यो सडक सम्पन्न भएसँगै बेनी–९, १०, रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसअघि बेनी नगरपालिकामार्फत गलेश्वर–काउलेगौँडा क्षेत्रमा करिब दुई किमी सडक स्तरोन्नति भएको थियो । गत कात्तिकमा दिवङ्गत भएकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले धार्मिकस्थल गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने यो सडकलाई बहुवर्षीय ठेक्का आह्वानका लागि प्रदेश सरकारसँग प्रस्ताव गरेकी थिइन् ।

बेनी–पाखापानी सडकको नेप्टेचौरबाट काउलेगौँडा र किराखोरबाट तीनमाने हुँदै पछैतर्फ पनि प्रदेश सरकारमार्फत विभिन्न ठाउँमा ढलान भएको छ । प्रदेश सरकारमार्फत गत वर्ष स्रोत सुनिश्चितता भएको रु २० करोड बजेटबाट बेनी–पाखापानी सडकअन्तर्गत बेनी–९ को किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानी जोड्ने चार किमी सडक स्तरोन्नति भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हुँदा बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु चार करोड बजेट विनियोजन गरेर रु २० करोडको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको थियो ।

बेनीबाट किराखोरसम्मको सडक स्तरोन्नति गरेको बेनी नगरपालिकाले बेनी–पाखापानी सडकअन्तर्गत वडा नं ९ को वडा कार्यालयबाट गिठीनी पात्लेखेत हुँदै रघुगङ्गाको झिँ जोड्ने सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.