भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त

म्याग्दी, ५ असार। म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि –७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गरेका हुन् ।

“खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा प्लास्टिकले छोप्ने मल्चिङ प्रविधि अपनाएको हो,” उनले भने “प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने भएकाले तरकारी खेतीमा यस्तो प्रविधिको प्रभावकारी भएको छ ।”

समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा अवस्थित शिवाङमा यसअघि दुई वर्ष परीक्षण गरेर यसपालिदेखि खुर्सानीको व्यावसायिक खेती सुरु गरेको उनले बताए । खुर्सानी खेतीका लागि उनले रु दुई लाख ५० हजार लगानी गरेका छन् ।

धवलागिरिमा यसअघि व्यावसायिक रूपमा अकबरे जातको खुर्सानीखेती नभएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताए । घरायसी प्रयोजनको लागि मात्र खुर्सानी खेती हुदै आएको थियो । बजारको सम्भावना भएकाले अकबरे खुर्सानीखेती गरेको किसान मगरले बताए ।

स्थानीय बजारमा प्रतिकिलो रु दुई सय ५० का दरले अकबरे खुर्सानी बिक्री हुन्छ । म्याग्दीमा हाल तराई र पूर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुने गर्छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ ।

तीस वर्षीय मगरले वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किबीखेती, कुखुरा र बाख्रापालन गरेर स्वरोजगार बनेका छन् । मगर कराते खेलका खेलाडी हुन् । उनको बगैँचामा ७० किबीका बोट छन् । गत वर्ष तीन हजार किलोग्राम किबी बिक्री गरेका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.