भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति

भक्तपुर । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सूर्यविनायकमा सम्पन्न तेस्रो अधिवेशनबाट निर्विरोध निर्वाचित भएको ७ सदस्यीय पदाधिकारीमा निराजन सिलवाल र रत्नकाजी प्रजापति उपाध्यक्ष, प्रदीप श्रेष्ठ सचिव, निसा कुस्मा र अमृता बुढाथोकी सहसचिव तथा बाबुराम दाहाल कोषाध्यक्षमा रहेका छन् ।

अधिवेशनबाट रोशन क्षेत्री र रुपक ढुङ्गाना लगायत केन्द्रीय प्रतिनिधि त्यसैगरी बाबुकाजी श्रेष्ठ र सुरेश श्रेष्ठ लगायतलाई प्रदेश प्रतिनिधि चयन गरिएको निवर्तमान अध्यक्ष संजीप शुभचिन्तकले बताए । अधिवेशनको प्रमुख आतिथ्यता नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गरेका थिए । कुर्सी, पद र प्रतिष्ठालाई केद्रमा राखी सत्ताधारीहरु सत्रुतापूर्ण ब्यवहारमा लाजमर्दो तरिकाले ओर्लिएको बताए । प्रेस जगतले उनीहरूलाई समयमै सच्याउन सक्नुपर्नेमा नेता गुरुङले जोड दिए ।

कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले नेपाल पत्रकार महासंघमा प्रेस सेन्टरलाई सरकार समर्थक दुई ठुला संगठनले रोक्न खोज्दाखोज्दै पनि शान्दार जीत हासिल गरेको दावी गरे । राजधानीमा अरु संगठन बढारिएको भन्दै उनले जनपक्षिय पत्रकारीतामा प्रेस सेन्टरले अझ भूमिका खेल्न जोड दिए । सो अवसरमा वरिष्ठ पत्रकार बलराम थापालाई सहिद बैकुण्ठ हरि स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

सहिद बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा प्रेस सेन्टर नेपाल भक्तपुरले स्थापना गरेको सो पुरस्कार शनिवार वरिष्ठ पत्रकार थापालाई प्रदान गरिएको हो । पुरस्कारको राशी रु १० हजार र सम्मान पत्र रहेको छ । थापाले मूलप्रवाह मासिक पत्रिकामार्फत देश, जनता र सर्वहारा वर्गलाई हित पुर्याएको उच्च कदर गर्दै पुरस्कार दिइएको प्रेस सेन्टर भक्तपुरले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघमा प्रेस सेन्टरको नेतृत्वमा निर्वाचित पदाधिकारीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, जिल्ला संयोजक सुनिल बासु, प्रेस सेन्टरका उपत्यका इन्चार्ज निर्मल ज्ञवाली, अध्यक्ष नवराज दाहाल लगायतको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.