भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी |

भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’

भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’

महोत्तरी, १८ भदाै । भोटेकोशी बाढी आएको एक साता बितिसक्दा पनि महोत्तरीका केही परिवारका लागि समय रोकिएजस्तै भएको छ । आफन्त सकुशल फर्किने आशामा परिवारका सदस्यहरू दिनरात मोबाइल हेरेर बसिरहेका छन् ।

बर्दिबास–३ गौरीडाँडाकी सरिता विष्टको हातमा मोबाइल छुटेको छैन । छिनछिनमा मोबाइलको स्क्रिन हेर्छिन् । तर, एक सातादेखि छोराको खबर आएको छैन । घरमा चुल्होसमेत राम्रोसँग बल्न सकेको छैन । अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत उनका छोरा सौभाग्य विष्ट भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

‘बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ । एकछिन यो मोबाइल छाडेकी छैन’, सरिताले भनिन्, ‘अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ ।’ भदौ १० गते बिहान छोरासँग कुराकानी भएको उनले बताइन् । बाढीको खबर आएपछि पुनः सम्पर्क गर्न खोजे पनि बिहान ९ बजेदेखि फोन सम्पर्क हुन नसकेको उनको भनाइ छ ।

सौभाग्यको खोजीका लागि उनका बुबा ध्रुव विष्ट र मावलीघरका आफन्त रसुवा पुगेका छन् । ‘एकचोटि त भन्दियोस्, मामु म फसेको थिएँ, अब निस्केँ’, सरिता भन्छिन्, ‘सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एकछिन मोबाइल छाडेकी छैन ।’

मेकानिकल इञ्जिनियर रहेका सौभाग्यको आम्दानीबाट परिवारको दैनिकी चल्दै आएको थियो । छोरा सम्पर्कविहीन भएपछि परिवार आर्थिक र मानसिक दुवै रूपमा संकटमा परेको छ ।

जोयाको पर्खाइमा परिवार

बर्दिबास–९ पशुपतिनगरको गोमस्ता टोलमा खिलबहादुर राना मगरको परिवार पनि छोरी जोयाको खबर पर्खिरहेको छ । अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत जोयासँग भदौ १० गते बिहान ९ बजेदेखि सम्पर्क हुन सकेको छैन ।

‘सन्तानका नाममा तीनवटी छोरी छन् । अलि लेखपढ भएकी हुँदा जोयाकै भरमा परिवार चलेको छ’, पिता खिलबहादुरले भने, ‘जसमाथि जिन्दगी सुम्पन्न खोज्थेँ, उही सम्पर्कविहीन भएकी छ ।’

छोरीको खोजीका लागि उनले आफैँ हेलिकोप्टर भाडामा लिएर रसुवा र नुवाकोटका त्रिशूली किनारका विभिन्न क्षेत्रमा पटक–पटक खोजी गरे । तर, अहिलेसम्म छोरीको अवस्था पत्ता लाग्न सकेको छैन । छोरीको खोजीमा हिँड्दाहिँड्दै पनि खबर नपाएपछि खिलबहादुरका आँखामा आँसु रोकिएका छैनन् ।

‘म गोसाइँकुण्ड जाँदैछु’ भनेका गङ्गाराम

मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको परिवार पनि उनको एक फोनको प्रतीक्षामा छ । भदौ ९ गते गङ्गारामले पत्नी गुञ्जालाई फोन गरेर ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेका थिए । त्यसपछि उनी परिवारको सम्पर्कमा आएका छैनन् ।

गङ्गाराम काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काम गर्थे । कम्पनीका पाहुनासँगै उनी भदौ ९ गते रसुवा गएको परिवारले जनाएको छ ।आमा, पत्नी र चार छोराछोरी उनको खबर पर्खिरहेका छन् ।

‘उहाँसँग सम्पर्क भएको छैन । आमा र चार छोराछोरी निरन्तर उहाँलाई सम्झिरहेका छन्’, गुञ्जाले भक्कानिँदै भनिन् ।परिवारको एउटै सहारा गङ्गाराम सम्पर्कविहीन भएपछि घरमा बेचैनी बढेको छ ।

हशनको फोनको प्रतीक्षा

जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहानदेखि सम्पर्कविहीन छन् ।केही समयअघि मात्रै रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम थालेका हशनले अन्तिमपटक भदौ ९ गते आमा मुलिमा खातुनलाई फोन गरेका थिए ।केही दिनमै एक साताको बिदा लिएर घर आउने बताएका हशन त्यसपछि सम्पर्कमा आएनन् ।

‘दिनदिनै घरमा फोन गर्थ्यो । भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ’, उनका पिता माजिद अन्सारीले भने, ‘यही भदौ १० यता घरमा चुल्हो बलेको छैन । आफन्त जो आउँछन्, घरमा सबैका आँखा टिलपिलाएका हुन्छन् ।’ कसैले हशनबारे राम्रो खबर सुनाउला कि भन्ने आशामा परिवार बसेको छ ।

महोत्तरीका १३ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा सम्पर्कमा आएका महोत्तरीका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित रूपमा परिवारको सम्पर्कमा पठाइसकेको जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाढीपछि सम्पर्कविहीन भएका १९ जनामध्ये ६ जना परिवारको सम्पर्कमा आइसकेका छन् ।

‘अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ । उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ’, प्रजिअ यादवले भने, ‘विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस् ।’ सम्पर्कविहीन आफन्तको प्रतीक्षामा रहेका परिवारका लागि हरेक दिन आशा र पीडाबीच बितिरहेको छ । उद्धार तथा खोजी टोलीले हराइरहेकाहरूको अवस्था पत्ता लगाउने प्रयास जारी राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.