भोटेकोशी बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन् ।
रसुवा र नुवाकोटलाई अति प्रभावित तथा धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ ।
बाढीमा परी १ हजार ५० जनाको मृत्यु पुष्टि भएको छ ।
३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।
११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ ।
हेलिकोप्टरमार्फत ४ हजारभन्दा बढीको उद्धार भएको छ ।
खोज तथा उद्धारमा २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।
बाढीबाट ४१ पक्की पुल पूर्ण रूपमा बगेका छन् भने थप चार पुलमा क्षति पुगेको छ ।
१९ विद्यालयका ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् ।
विभिन्न जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको छ ।
काठमाडौँ, १७ भदाै । एक साताअघि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरिएको छ । त्यस्तै धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लाको सूचीमा राखिएको छ । बाढीबाट अहिलेसम्म १ हजार ५० जनाको मृत्यु पुष्टि भएको छ भने ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
यस्तै, ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ । उद्धारका क्रममा हेलिकोप्टरमार्फत मात्रै ४ हजारभन्दा बढीको उद्धार गरिएको छ । खोज तथा उद्धारका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धार कार्यमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोलीसमेत परिचालन भएका छन् ।
बाढी तथा पहिरोमा परी घाइते भएका २९२ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार गरिएको छ । तीमध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयका ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् ।
तीमध्ये आठ विद्यालय पूर्ण रूपमा र आठ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । तीनवटा विद्यालय भने सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ । बाढीबाट रसुवाको स्याफ्रुबेंसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, रसुवागढीस्थित टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन् । गल्छीको बैरेनी अस्पताल र चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने आंशिक क्षति पुगेको छ ।
भोटेकोशी बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको छ । थप चारवटा पुलमा क्षति पुगेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।नुवाकोटमा मात्रै १ हजार २६७ घर पूर्ण रूपमा र १ हजार २५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । भोटेकोशी–त्रिशूली करिडोरअन्तर्गत बाढी प्रभावित क्षेत्रमा ४ हजार ६८९ भवन जोखिममा परेको प्रारम्भिक अनुमान गरिएको छ ।
रसुवाका अति प्रभावित गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक प्रभावित भएका छन् ।बाढीका कारण उनीहरू सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भई कठिन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी बाढीबाट रसुवाका विभिन्न जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली–२, माथिल्लो त्रिशूली–१, मैलुङखोला, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मध्य त्रिशूली गंगा नदी, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायत आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत, पुनर्स्थापना र क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कामसमेत जारी रहेको छ ।
