नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढी–पहिरोले हिमाली क्षेत्रमा नयाँ किसिमको विपद् जोखिमबारे प्रश्न उठाएको छ ।
हिमनदी, बरफ र चट्टान मिसिएर तीव्र गतिमा खस्ने हिम–चट्टान पहिरोको जोखिम बढिरहेको विज्ञहरूको भनाइ छ ।
लाङटाङ लिरुङको उत्तरी ढलानबाट खसेको ठूलो हिम–चट्टानको प्रवाह केही मिनेटमै केरुङ बन्दरगाहसम्म पुगेको प्रारम्भिक अध्ययन ।
नदीको जलस्तर वा वर्षा मापनमा आधारित परम्परागत पूर्वसूचना प्रणालीले यस्तो विपद्मा पर्याप्त समय दिन नसक्ने विज्ञहरूको भनाइ छ ।
हिमतालको निगरानी मात्र नभई हिमनदी, चट्टान, पहाडको ढलान र नदी प्रणालीलाई एकीकृत रूपमा अध्ययन गर्नुपर्ने सुझाव ।
उपग्रह र रिमोट सेन्सिङ प्रविधिबाट हिमाली ढलानमा हुने सूक्ष्म परिवर्तन पहिल्यै पहिचान गर्न सकिने विज्ञहरूको भनाइ ।
५ हजार मिटरभन्दा माथिका दुर्गम क्षेत्रमा समेत स्वचालित ढलान–विकृति निगरानी प्रणाली आवश्यक रहेको सुझाव ।
उद्धार क्षमताभन्दा विपद् आउनुअघि जोखिम पहिचान र पूर्वसूचना प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड ।
काठमाडौँ, १८ भदाै । नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको साता आएको विनाशकारी बाढी तथा पहिरोले हिमाली क्षेत्रमा देखिन थालेको नयाँ प्रकृतिको विपद् जोखिमबारे गम्भीर प्रश्न उठाएको छ ।
अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी, बरफ र चट्टान एकैसाथ मिसिएर तीव्र गतिमा तल झर्ने हिम–चट्टान पहिरोको जोखिम बढ्दै गएको भन्दै यस्ता घटनाका लागि परम्परागत पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन् ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार विज्ञहरूले हिमाली क्षेत्रमा हुने यस्ता विपद्को निगरानी र पूर्वसूचना प्रणालीलाई नयाँ ढाँचामा विकास गर्नुपर्ने सुझाव दिएका छन् ।
चिनियाँ अधिकारीहरूको प्रारम्भिक मूल्याङ्कनअनुसार लाङटाङ लिरुङको उत्तरी ढलानमा करिब ५ हजार २०० मिटर उचाइमा हिमनदीको ठूलो भाग भाँचिएर तल खसेको थियो । त्यस क्रममा बरफसँगै ठूलो परिमाणमा चट्टान खसेपछि पहाडको भिरालो भागसमेत बगाएको थियो ।
बरफ, चट्टान, माटो र पानी मिसिएर बनेको ठूलो भेल तीव्र गतिमा करिब चार हजार मिटरको उचाइसम्म झरेको थियो । प्रारम्भिक पहिरोबाट बनेको प्रवाह करिब २२ किलोमिटर तलसम्म पुगेको र केरुङ बन्दरगाहसम्म पुग्न ६ देखि ७ मिनेट मात्रै लागेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
यति छोटो समयमा विपद्को प्रवाह तल्लो क्षेत्रमा पुग्ने अवस्थामा नदीको जलस्तर, वर्षा वा बाढी मापनमा आधारित परम्परागत पूर्वसूचना प्रणालीले मानिसलाई सुरक्षित स्थानमा पुग्न पर्याप्त समय दिन नसक्ने विज्ञहरूको भनाइ छ । अस्ट्रियाको युनिभर्सिटी अफ ग्राजका भूवैज्ञानिक जाकोब स्टाइनरका अनुसार घटनास्थलका उपग्रह तस्बिर र पहिरोले बनाएको भू–आकृति हेर्दा विपद्को सुरुआत हिमनदीबाट मात्रै भएको नहुन सक्छ ।
उनका अनुसार सुरुमा चट्टानको ठूलो भाग भासिएको र त्यसमा बरफ मिसिँदा पहिरोको परिमाण तथा त्यसबाट उत्पन्न बाढीको प्रभाव थप बढेको हुन सक्छ ।
फ्रान्सस्थित ग्रेनोबल आल्प्स विश्वविद्यालयकी विशेषज्ञ क्रिस्टिन कुकले पनि घटनाको प्रारम्भिक कारण चट्टानको ढलान भत्किनु हुन सक्ने बताएकी छन् । त्यसैले यस्ता घटनालाई केवल हिमनदी पग्लिएर आएको बाढीका रूपमा बुझ्नु जोखिमपूर्ण हुने विज्ञहरूको भनाइ छ ।
विज्ञहरूका अनुसार लामो समयदेखि भइरहेको तापक्रम वृद्धि, भूगर्भीय प्रक्रिया र पृथ्वीका ठूला प्लेटहरूको गतिविधिले हिमाली क्षेत्रका ढलानको स्थायित्वमा असर पार्न सक्छ । छोटो समयको हिउँ वा बरफ पग्लिनु तत्कालीन कारण बन्न सक्ने भए पनि त्यसअघि नै पहाडको ढलान कमजोर बन्दै गएको हुन सक्ने उनीहरूको तर्क छ ।
त्यसैले हिमाली क्षेत्रमा विपद् जोखिम मूल्याङ्कन गर्दा हिमतालको निगरानीमा मात्र सीमित हुन नहुने विज्ञहरूले बताएका छन् । हिमनदी, चट्टान, पहाडको ढलान र नदी प्रणालीबीचको अन्तरसम्बन्धलाई एउटै प्रणालीका रूपमा अध्ययन गर्नुपर्ने उनीहरूको सुझाव छ ।
नदीमा पानीको बहाव मापन गर्ने उपकरण राखे पनि ती उपकरण पहिरो वा बाढीले बगाउन सक्ने जोखिम हुन्छ । उपकरण सुरक्षित रहे पनि बाढी सुरु भएपछि त्यसको वास्तविक परिमाण तत्काल अनुमान गरी तल्लो तटीय बस्तीलाई पर्याप्त समयमै चेतावनी दिन कठिन हुने विज्ञहरूको भनाइ छ ।
स्टाइनरका अनुसार कुनै असामान्य संकेत भेटिए पनि त्यसलाई सही ढंगले व्याख्या गर्न आवश्यक हुन्छ । हरेक संकेतलाई खतराका रूपमा लिएर चेतावनी दिँदा बारम्बार गलत सूचना जाने जोखिम हुन्छ ।
त्यसैले विपद् सुरु भएपछि संकेत खोज्नुभन्दा विपद् आउनुअघि नै पहाडको ढलानमा भइरहेको परिवर्तन पहिचान गर्ने प्रणाली विकास गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
रिमोट सेन्सिङ अर्थात् उपग्रह तथा अन्य प्रविधिको प्रयोग गरी हिमाली क्षेत्रमा पहाडको सतहमा आएको सूक्ष्म परिवर्तन, चिरा, ढलानको गति तथा असामान्य भू–आकृति पहिल्यै पहिचान गर्न सकिन्छ । त्यसपछि जोखिमयुक्त क्षेत्रमा स्थलगत अध्ययन र निगरानी केन्द्रित गर्न सकिने विज्ञहरूको भनाइ छ ।
क्रिस्टिन कुकले विशेषगरी स्वचालित ढलान–विकृति निगरानी प्रणाली विकास गर्नुपर्ने बताएकी छन् । यस्तो प्रणालीले मानिस पुग्न कठिन ५ हजार मिटरभन्दा माथिका हिमाली क्षेत्रमा समेत ढलान अस्थिर हुँदै गएको संकेत पहिचान गर्न सहयोग गर्ने उनको भनाइ छ ।
नेपालजस्तो भौगोलिक रूपमा जटिल देशमा यस्तो प्रविधिको महत्व अझ बढी हुने विज्ञहरूको भनाइ छ । हिमाली क्षेत्रमा सडक, जलविद्युत् आयोजना, पदमार्ग, पर्यटकीय बस्ती तथा नदी किनारमा संरचना विस्तार भइरहेका छन् ।
यस्तो अवस्थामा माथिल्लो क्षेत्रमा हुने एउटा ठूलो भौगोलिक परिवर्तनको प्रभाव धेरै तलसम्म पुग्न सक्छ । स्टाइनरका अनुसार लाङटाङको घटना छुट्टै र असाधारण घटना भनेर बेवास्ता गर्न मिल्दैन । तापक्रम वृद्धि तथा हिमाली वातावरणमा भइरहेको दीर्घकालीन परिवर्तनका कारण भविष्यमा यस्ता घटना थप देखिन सक्ने चेतावनी उनले दिएका छन् ।
यसले नेपालले विपद् व्यवस्थापनका लागि अपनाउँदै आएको परम्परागत ढाँचाको पुनरावलोकन गर्नुपर्ने संकेत गरेको छ । अब पूर्वसूचना प्रणालीमा वर्षा कति भयो, नदीमा पानी कति बढ्यो वा हिमतालमा पानीको अवस्था कस्तो छ भन्ने जानकारी मात्र पर्याप्त नहुने देखिएको छ ।
कुन पहाडको ढलान कति सर्दैछ, कहाँ चिरा बढिरहेको छ, कुन हिमनदी अस्थिर बन्दैछ र कुन क्षेत्रमा चट्टान खस्ने सम्भावना बढिरहेको छ भन्ने जानकारीलाई पनि पूर्वसूचना प्रणालीको हिस्सा बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । हिमाली विपद् आएपछि उद्धार गर्ने क्षमतामा मात्र निर्भर नभई विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने प्रविधि र प्रणालीमा लगानी बढाउनुपर्ने उनीहरूको जोड छ ।
