काठमाडौँ, १६ भदाै । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा–नुवाकोट क्षेत्र प्रभावित भएपछि नेपाल भ्रमणमा आउने केही पर्यटकमा अन्योल देखिएको छ । बाढीका कारण कैलाश मानसरोवर र गोसाइँकुण्ड क्षेत्रमा पुगेका केही पर्यटक अलपत्र परेका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार भोटेकोशी विपद्का कारण अलपत्र परेका २८९ जना स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ । अझै ५९१ जना पर्यटक सम्पर्कविहीन रहेको र उनीहरूसँग सम्पर्क स्थापित गरी खोज तथा उद्धारको प्रयास भइरहेको बोर्डले जनाएको छ ।
उद्धार गरिएका पर्यटकमध्ये सबैभन्दा धेरै १८० जना भारतीय नागरिक रहेका छन् । त्यस्तै चीनका ८९ जना र बाँकी अन्य विभिन्न मुलुकका नागरिक रहेको पर्यटन बोर्डले जनाएको छ । पर्यटन बोर्डले अगस्ट २६ देखि कैलाश मानसरोवर क्षेत्रका टुर अपरेटर तथा सरोकारवालासँग समन्वय गर्दै पर्यटकको खोजी तथा उद्धारलाई तीव्रता दिएको जनाएको छ ।
यसैबीच, नेपाल भ्रमणका लागि अग्रिम बुकिङ गरेका केही पर्यटकले आफ्नो यात्रा रद्द गर्न थालेका छन् । होटल, ट्रेकिङ, टुर तथा हवाई टिकटको बुकिङ रद्द हुने क्रम देखिएको पर्यटन व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालमा आएको बाढीपहिरोसम्बन्धी समाचार र केही देशले जारी गरेका यात्रा सुझावका कारण पर्यटकमा अन्योल बढेको व्यवसायीको बुझाइ छ ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले विपद् मुख्यतः भोटेकोशी र त्रिशूली नदी बेसिनको प्रभावित क्षेत्रमा सीमित रहेको र नेपालका अन्य धेरै पर्यटकीय क्षेत्र सुरक्षित तथा सामान्य अवस्थामा रहेको बताएका छन् । नेपालभर ठूलो विपद् आएको गलत सन्देश अन्तर्राष्ट्रिय स्तरमा फैलिन नदिन सरकार, कूटनीतिक नियोग तथा पर्यटनसम्बद्ध निकायले वस्तुपरक र तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार पर्यटन बोर्ड, पर्यटन विभाग र निजी क्षेत्रको सहकार्यमा विशेष कक्ष स्थापना गरी प्रभावित पर्यटक तथा उनीहरूका परिवारलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउने काम भइरहेको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डेले पनि रसुवा–नुवाकोटको निश्चित क्षेत्र मात्रै बाढीबाट प्रभावित भएको र देशका अन्य प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित रहेको बताएका छन् ।
उनका अनुसार हवाई उडान नियमित छन् भने मानिसहरूको आवतजावत पनि सामान्य रूपमा भइरहेको छ । रसुवा र नुवाकोटको विपद्ले पर्यटन क्षेत्रमा केही असर पारे पनि काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीलगायत प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित रहेको व्यवसायीहरूले बताएका छन् ।
उनीहरूले अहिलेको अवस्थामा बाढी प्रभावित क्षेत्रको उद्धार र राहतलाई तीव्रता दिँदै नेपालका सुरक्षित पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय समुदायलाई सही र वस्तुपरक जानकारी दिन आवश्यक रहेको बताएका छन् ।
