बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित ।
पृथ्वी राजमार्ग, कान्ति लोकपथ, पासाङ ल्हामु सडक र त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण अवरुद्ध ।
बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी रोक ।
टोखा–छहरे सडकमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक ।
जोखिमयुक्त सडकमा प्रहरीले अवस्था हेरेर मात्रै सवारी सञ्चालन गराउने ।
काठमाडौँ, १६ भदाै । लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा सडक अवरोध कायम रहेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर र गजुरी गाउँपालिका–२ को परेवा भीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भदौ १४ गतेदेखि यी क्षेत्रमा पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सञ्चालन हुन सकेको छैन ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो पहिरो खसेपछि कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म उक्त खण्डमा सवारी साधन सञ्चालन गर्न नदिइने भएको छ ।
दिउँसो भने सडकको अवस्था मूल्याङ्कन गरेर मात्रै सवारी साधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ । नुवाकोटको बेत्रावतीस्थित सिमिटारमा बाढी आएपछि पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, टोखा–छहरे सडकखण्डअन्तर्गत घट्टेखोलामा बाढी तथा पहिरोको जोखिम बढेपछि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड लामो समयदेखि अवरुद्ध छ । जिल्लाका अन्य मुख्य सडकखण्डसमेत भदौ १० गतेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाउँदै यात्रुलाई जोखिमयुक्त सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
