भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु

सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु

डडेल्धुरा, १६ भदाै । सुदूरपश्चिमको मौलिक तथा लोकप्रिय पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन आज बिरुडा पञ्चमी मनाइँदै छ । यस अवसरमा व्रतालु महिलाले घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर बिरुडा भिजाउने चलन छ ।

परम्पराअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ । त्यसपछि त्यसमा मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा तयार गरिन्छ । बिरुडालाई गौरादेवीको प्रसादका रूपमा लिइन्छ भने गौरा देवीको पूजाआजामा समेत यसको प्रयोग गरिन्छ ।

बिरुडा भिजाउने क्रममा महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउनेसम्बन्धी फाग गीत गाउने परम्परा रहेको संस्कृतिका जानकारहरू बताउँछन् । यस पर्वमा महिलाले व्रत बस्ने तथा दुबधागो लगाउने चलनसमेत छ । भिजाइएको बिरुडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ । सप्तमी र अष्टमीलाई गौराका विशेष दिन मानिन्छ । सप्तमीका दिन धान खेतमा उम्रिएको साउँबाट गौराको प्रतिमा बनाएर गौराघरमा भित्र्याउने परम्परा छ ।

गौराष्टमीका दिन विधिपूर्वक पूजाआजा गर्दै मङ्गलगानका साथ गौरा नचाइन्छ । त्यस क्रममा अठवाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथासहितका गीतमा गौरा नचाउने गरिन्छ । गौरा पर्व सुरु भएसँगै सुदूरपश्चिमका विभिन्न ठाउँमा देउडा खेल्ने परम्परा पनि सुरु हुन्छ ।

गौरा पर्वलाई पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी पार्वती अर्थात् गौरीको पूजाआराधनासँग जोडिएको पर्वका रूपमा लिइन्छ । स्थानीय लोकपरम्पराअनुसार शिव–गौरीको पूजाआजा गरिने भएकाले यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ ।

अगस्ति ताराको उदयका आधारमा गौरा शुक्ल वा कृष्ण पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । दुवै गौरालाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्व दिने परम्परा रहेको छ ।

गौरा पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन् । देउडा, डुस्को, धमारीलगायतका मौलिक सांस्कृतिक गतिविधिले अहिले सुदूरपश्चिमको गाउँ–बस्तीमा पर्वको रौनक बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.