रसुवागढी जलविद्युतले थाल्यो बिजुली उत्पादन, ३ अर्ब २५ करोड कमाउने लक्ष्य

रसुवागढी जलविद्युतले थाल्यो बिजुली उत्पादन, ३ अर्ब २५ करोड कमाउने लक्ष्य

काठमाडौं । लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।

आयोजनाले परीक्षणका रूपमा चार दशमलव दुई मेगावाट विद्युत् उत्पादन गरेको थियो । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिनेछ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्रमा आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छवि गैरेले बताए ।

टिमुरे स्थित विद्युतगृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर लामो एक सय ३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०, १३२, ३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । त्यहाँबाट त्रिशूली–काठमाडौँ दुई सय २० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

चिलिमे–त्रिशूली दुई सस २० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।रसुवागढीबाट उत्पादित विद्युतबाट हिउँदयाममा काठमाडौं उपत्यकाका हुने विद्युत् माग व्यवस्थापनका लागि सहज हुनेछ । सुक्खायाम सुरुसँगै भोटेकोशीमा पानीको बहाब घट्न सुरु भएसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछैन ।

हिउँदमा आयोजनाबाट ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३२ दशमलव ७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको शून्य दशमलव २१ प्रतिशत संस्थापक शेयर छ । आयोजनाले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको थियो । आयोजनामा कर्मचारी सञ्चाय कोषले ऋण प्रवाह गरेको छ । निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ ।

कम्पनीमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको १५ दशमलव पाँच प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरू, प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारी तथा ऋणदाता संस्था ९कर्मचारी सञ्चयकोष०का कर्मचारीको चार दशमलव पाँच प्रतिशत, आयोजना प्रभावित रसुवावासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण सेयर रहेको छ । आयोजनाबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । कम्पनीलाई वार्षिक रु तीन अर्ब २५ करोड आम्दानी हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.