वीरगञ्जमा मान्छे नभएको घर लक्षित गर्दै चोरीका घटना
दुई घरबाट सुन–चाँदी र गरगहना चोरी
एक घटनामा करिब ५० लाख बराबरको क्षति
सावधानी अपनाउन पर्सा प्रहरीको आग्रह
चालु आर्थिक वर्षमा २६ चोरीका मुद्दा दर्ता
पर्सा, २३ माघ । वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै सुन–चाँदी तथा गरगहना चोरीका घटना सार्वजनिक भएका छन् । पछिल्ला दुई घटनाले घर खाली भएको मौका छोपेर चोरी गर्ने प्रवृत्ति बढ्दो रहेको देखाएको छ ।
माघ १२ गते वीरगञ्ज महानगरपालिका–१५ स्थित एनआई कलेज जाने सडक नजिक रहेको श्यामकिशोर लाल कर्णको घरबाट करिब ५० लाख रुपैयाँ बराबरको सुन–चाँदीका गरगहना चोरी भएको हो । घरमा कोही नभएको अवस्थामा तीन जना अपरिचित व्यक्तिले उक्त मूल्य बराबरका गरगहना चोरेर फरार भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, माघ १३ गते वीरगञ्ज–१४ स्थित लिङ्क रोडमा रहेको वीरेन्द्र सिंहको घरबाट सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको छ । चोरी भएका सामग्रीको मूल्य यकिन भइसकेको छैन ।
पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार केही दिनयता वीरगञ्ज महानगर क्षेत्रमा यस्ता दुई वटा चोरीका घटना दर्ता भएका छन् । “प्रहरीसँग उपलब्ध स्रोतसाधन र प्रविधिको प्रयोग गरेर चोरीमा संलग्न व्यक्तिको खोजी कार्य जारी छ,” उनले बताए ।
प्रवक्ता बस्नेतले अनुसन्धानका क्रममा अधिकांश चोरीका घटना घरमा मान्छे नभएको अवस्थामा भएको देखिएको उल्लेख गर्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरे । “घरका सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएमा स्थानीय प्रहरीलाई जानकारी गराएर जान अनुरोध गर्छौँ । त्यसो गरेमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा व्यवस्था मिलाउन सक्छ,” उनले भने ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म पर्सा जिल्लामा चोरीसम्बन्धी २६ मुद्दा दर्ता भएका छन् । तीमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौ जना फरार रहेका छन् । चोरीमा संलग्न १३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने २४ जना धरौटीमा रिहा भएका छन् । हालसालै छ जना अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा पर्सा जिल्लामा ३८ वटा चोरीका मुद्दा दर्ता भएका थिए । तीमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए भने आठ जना फरार थिए । पक्राउ परेकामध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो भने ३६ जना धरौटीमा र दुई जना साधारण तारेखमा छुटेका थिए ।

