भर्खरै : Sorry, your browser does not support inline SVG.

पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह

पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह

काठमाडौँ, १६ साउन । पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपाली पर्वतारोहीहरूको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन पर्वतारोहण सञ्चालक संघ नेपालले सरकारसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

संघका महासचिव ऋषि भण्डारीद्वारा जारी विज्ञप्तिमा विदेशी भूमिमा विपद्मा परेका नेपाली नागरिकको उद्धार, सुरक्षा तथा खोजी कार्यलाई प्रभावकारी बनाउन राज्यको सक्रिय भूमिका र बलियो कूटनीतिक समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ।

संघले नेपालको पर्यटन क्षेत्र दिगो आर्थिक विकासको प्रमुख आधार भएको र पर्वतीय पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने क्षमता राख्ने जनाएको छ। यद्यपि, यस्तो संवेदनशील अवस्थामा सरकारको समन्वय, कूटनीतिक पहल र सक्रियता अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

विज्ञप्तिमा निजी क्षेत्रले नेपाली उद्धार पाइलट, उद्धार टोली तथा आवश्यक स्रोत–साधन परिचालन गर्न तयारी देखाए पनि सरकारी अनुमति र कूटनीतिक सहजीकरण समयमै हुन नसकेको उल्लेख गर्दै यसलाई राज्य संयन्त्रको संस्थागत कमजोरीका रूपमा चित्रण गरिएको छ।

शुक्रबार पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरो जाँदा कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। हालसम्म चार जनाको शव फेला परिसकेको छ भने निर्मल पुर्जासहित ६ जना अझै बेपत्ता रहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.