भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो ।

चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए । उनका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ ।

‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर्दा मनमा केही डरसँगै रोमाञ्चक अनुभूति हुन्छ । यहाँ अन्य स–साना थुप्रै गुफा छन् । प्राकृतिक रूपमै मिलेर बसेका ढुङ्गाका थाक, ठुल्ठूला चट्टान, पहरा, विभिन्न प्रजातिका वनस्पति र चराचुरङ्गीको आवाजले चाङलुङ गुफा विचरणलाई थप यादगार बनाउँछ । यहाँ चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको बासस्थान रहेको किंवदन्ती छ । स्थानीयले तिनको विशेष पूजाआराधना गर्दै आएका स्थानीय रमेश खड्काले बताए ।

किंवदन्तीअनुसार प्राचीनकालमा चाङलुङ गुफाबाट चार किलोमिटर माथिको दारेगौँडाबाट एक बिजुवानी र एक कुकुर गुफाभित्र छिर्दा कुकुर मात्र चाङलुङ गुफामा निस्कियो । बिजुवानीभित्रै कतै अलप भइन् । उनी नै चाङलुङ देवी र मच्छिन्द्र देवीका रूपमा परिणत भएको विश्वासमा स्थानीयले पूजाआजा गर्न थालेको र यहाँ शक्तिशाली देवी रहेको विश्वास रहेको स्थानीय बुद्धिमान लिम्बूले बताए ।

चाङलुङ गुफाको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारले लगानी गरेका छन् । विसं २०७५ यता चाङलुङ गुफा पर्यटन प्रवर्द्धनमा तीन तहका सरकारका रु तीन करोड बजेट खर्च भइसकेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । पर्यटक आकर्षित गर्न स्वागतद्वार, चट्टाने पहराको टुप्पोमा रिफ्रेसमेन्ट (हावाघर), सिँढी मार्ग, रेलिङ, फलैँचा, लभपार्कजस्ता संरचना निर्माण गरिएका छन् ।

कतिपय संरचना निर्माणाधीन अवस्थामा रहेका वडाध्यक्ष मादेनले बताए । प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र अनौठो लाग्ने चाङलुङ गुफालाई भविष्यमा पूर्वकै अब्बल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको छथरका अध्यक्ष लिम्बूले बताए। कोशी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारबाट शुक्रबारे बजार हुँदै छथर गाउँपालिका–५ मार्सेसम्म १२ किलोमिटर पक्की सडक र त्यहाँबाट तीन किलोमिटर कच्ची सडक हुँदै चाङलुङ गुफा पुग्न सकिन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.