काठमाडौं, १३ साउन । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भएका तीनै जनाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरु वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ मंगलबार सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित उम्मेदवार मानबहादुर कार्कीको सुनुवाइ बुधबार भएको हो ।
समितिका सभापति बोधनारायण श्रेष्ठले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम (५) बमोजिम तीनै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरिएको घोषणा गरेका हुन् ।
सुनुवाइका क्रममा सांसदहरूले दिएका सुझावलाई कार्यान्वयन गर्दै कार्ययोजनालाई थप प्रभावकारी र नतिजामुखी बनाउन समितिले प्रस्तावित पदाधिकारीहरूलाई आग्रह गरेको छ ।
समितिले परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, अपेक्षित उपलब्धि तथा ती लक्ष्य हासिल गर्न आवश्यक क्रियाकलापहरू समेटेर पेश गर्न पनि निर्देशन दिएको छ ।
