सुनसरी घटनापछि दलहरूको संयुक्त अपील
उत्तेजना र अफवाहबाट टाढा रहन आग्रह
प्रदेशदेखि पालिकासम्म संवाद विस्तार गर्ने निर्णय
निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न आह्वान
काठमाडौं, १३ साउन । सुनसरीमा भएको सामुदायिक तनाव र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर विभिन्न राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्भाव, पारस्परिक भाइचारा र संयमता कायम राख्न सबै नागरिकलाई अपील गरेका छन् ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार बोलाएको सर्वदलीय बैठकपछि सात बुँदे संयुक्त वक्तव्य सार्वजनिक गरिएको हो । वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि गतिविधि, उत्तेजना वा हिंसात्मक व्यवहारमा संलग्न नहुन आग्रह गरिएको छ ।
बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न निर्देशन दिएको छ । धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
संयुक्त वक्तव्यमा भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिले अवस्था थप जटिल बनाउन सक्ने भएकाले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई आग्रह गरिएको छ ।
सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कानूनबमोजिम कारबाही गर्न, पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै अवस्था शीघ्र सामान्य बनाउन माग गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शङ्कर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका नेता प्रकाश अधिकारी सहभागी थिए ।
