काठमाडौं, १९ भदौ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि छिमेकी चीनले उद्धार तथा राहतका लागि सहयोगलाई निरन्तर विस्तार गरेको छ । चीनको सहयोगप्रति परराष्ट्रमन्त्री शिशिर खनालले धन्यवाद दिएका छन् । बिहीबार चिनियाँ राजदूतसँग भएको भेटमा मन्त्री खनालले प्राकृतिक विपद्को समयमा चीनले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता विपद्को सामना गर्न दुवै देशबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
भोटेकोसी तथा नेपाल–चीन सीमा क्षेत्रलाई प्रभावित बनाएको बाढीबाट नेपाल र चीन दुवैतर्फ क्षति भएको उल्लेख गर्दै मन्त्री खनालले प्रभावित क्षेत्रमा चीनबाट थप सहयोगको अपेक्षा गरिएको बताएका छन् । बाढीमा चिनियाँसहित विदेशी नागरिकसमेत प्रभावित भएकाले उनीहरूको खोज, उद्धार तथा राहतलाई प्राथमिकतामा राखिएको उनले बताएका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्रीसहित चिनियाँ टोली परिचालन गरिएको छ । पछिल्लो चरणमा डीएनए परीक्षण विशेषज्ञ, फोरेन्सिक विज्ञ, पानी शुद्धीकरण उपकरण तथा अन्य उद्धार सामग्री नेपाल आइपुगेका छन् ।
अगस्ट ३० मा चिनियाँ वायुसेनाका दुई वटा वाई–२० ठूला सैनिक परिवहन विमान काठमाडौं आएका थिए । ती विमानमार्फत बाढी प्रभावितका लागि करिब ५० टन आपत्कालीन राहत सामग्री, उद्धार उपकरण तथा सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली नेपाल ल्याइएको थियो ।
त्यसपछि सेप्टेम्बर १ मा चीनबाट राहत सामग्रीको दोस्रो खेप काठमाडौं आइपुगेको थियो । दोस्रो खेपमा ड्रोन, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश उपकरण ल्याइएको थियो । पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका थिए ।
चीन सरकारले नेपाललाई २० लाख अमेरिकी डलर आपत्कालीन बाढी राहत सहयोग उपलब्ध गराएको छ । त्यस्तै, चिनियाँ रेडक्रसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप २ लाख अमेरिकी डलर सहयोग गरेको छ ।
राहत सामग्री र नगद सहयोगसँगै चीनले विपद् प्रभावित क्षेत्रका उपग्रह तथा क्षेत्रीय तस्बिर, जलविज्ञान र मौसमसम्बन्धी सूचनासमेत नेपाललाई उपलब्ध गराइरहेको जनाएको छ ।
सेप्टेम्बर ३ मा चीनले सहयोगको अर्को खेप नेपाल पठाएको थियो । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री नेपाल ल्याइएको थियो । उक्त टोलीसँगै चिनियाँ फोरेन्सिक विज्ञको १० सदस्यीय टोलीसमेत नेपाल आएको जनाइएको छ ।
विपद्का कारण भएको मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि नेपालमा खोज, उद्धार, पहिचान र राहतका काम भइरहेका बेला चीनले विभिन्न माध्यमबाट सहयोगलाई निरन्तरता दिएको हो ।
