काठमाडौं, १९ भदौ । रुसले युक्रेन युद्धका लागि तत्काल थप मानिसलाई सैन्य सेवामा परिचालन गर्ने कुनै योजना नरहेको जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार नयाँ सैन्य भर्तीको सम्भावनासम्बन्धी चर्चालाई युक्रेनको ‘झूटो प्रचार’ भन्दै तत्काल त्यस्तो कुनै योजना नरहेको बताएका हुन् ।
भ्लादिभोस्तोकमा आयोजित ‘इस्टर्न इकोनोमिक फोरम’को पूर्ण सत्रमा बोल्दै पुटिनले अहिले कुनै पनि त्यस्तो परिस्थिति नरहेको बताए, जसका कारण नयाँ सैन्य परिचालन आवश्यक होस् ।
उनले रुसी नागरिकहरू स्वेच्छाले सेनामा भर्ती भएर सम्झौतामा हस्ताक्षर गरिरहेको दाबी गरे ।
सन् २०२२ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि रुसले जगेडा फौजको आंशिक परिचालन गरेको थियो । क्रेमलिनले त्यसबेला करिब ३ लाख जनालाई परिचालन गर्ने बताएको थियो । उक्त निर्णय रुसमा निकै अलोकप्रिय बनेको थियो र ठूलो सङ्ख्यामा भर्ती उमेरका पुरुषले देश छाडेका थिए ।
रुसी सरकारले त्यसयता नयाँ सैन्य परिचालनको योजना नरहेको पटक–पटक बताउँदै आएको छ । पुटिनले पनि अहिले थप परिचालन आवश्यक नरहेको दोहोर्याएका छन् ।
पुटिनले यसै महिनापछि हुने रुसी संसदीय निर्वाचनलाई लक्षित गर्दै नयाँ सैन्य परिचालनसम्बन्धी चर्चा निर्वाचनको नतिजा प्रभावित पार्ने उद्देश्यले गरिएको ‘शत्रुको झूटो प्रचार अभियान’ भएको दाबी गरे ।
यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जुलाईमा रुसले युद्धमा ठूलो क्षति बेहोरेपछि शरद ऋतुमा नयाँ सैन्य परिचालनको तयारी गरिरहेको दाबी गरेका थिए । मस्कोले भने यस्तो दाबीलाई अस्वीकार गर्दै आएको छ ।
युक्रेन युद्धमा रुसी सेनाको प्रगति यस वर्ष सुस्त भएको बताइएको छ । युक्रेनले ड्रोनको व्यापक प्रयोग गरेपछि रुसी सेनाका लागि तीव्र तथा ठूलो स्तरमा सैन्य आवागमन गर्न कठिन भएको जनाइएको छ ।
अमेरिकी थिंक ट्याङ्क ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ले पनि रुसले अर्को सैन्य परिचालनका लागि आधार तयार गरिरहेको हुनसक्ने आकलन गरेको थियो । रुसमा हालै पारित कानुनी व्यवस्थाले युद्धका क्रममा सेनामा भर्ती गर्न सकिने व्यक्तिको दायरा थप फराकिलो बनाएको बताइएको छ ।
युक्रेन युद्धका क्रममा रुस र युक्रेन दुवै पक्षले ठूलो सैन्य क्षति बेहोरेका छन् । तथापि, रुसी नेतृत्वले तत्काल थप सैन्य परिचालन आवश्यक नरहेको दाबी गर्दै आएको छ ।
