चीनको ग्वाङदोङ प्रान्त र साना–मझौला व्यवसायी टोलीको नेपाल भ्रमण।
नेपाली व्यवसायीसँग सहकार्य र बजार प्रवर्द्धनमा चासो।
उत्पादन अन्तर्राष्ट्रियकरण र बजार विस्तारमा सहयोगको प्रतिवद्धता।
स्वास्थ्य मन्त्रालय, संघीय उद्योग मन्त्रालय र प्रदेश उद्योग मन्त्रालयसँग भेटघाट।
टोलीमा उपमहानिर्देशक वान सुपिङ्ग र अन्य वरिष्ठ सदस्यहरूको सहभागिता।
सीप र प्रविधि आदान–प्रदानमा चासो।
नेपाली व्यवसायीसँग उत्पादित सामग्रीको अवलोकन र औद्योगिक क्षेत्र भ्रमण।
चिनियाँ औद्योगिक मेलामा सहभागीतामा सहजिकरण।
काठमाडौं, २० मंसिर । चीनको ग्वाङदोङ प्रान्त सरकार र त्यहाँका साना तथा मझौला व्यवसायीहरूले नेपालका व्यवसायीसँग सहकार्य र व्यापार प्रवर्द्धनका लागि चासो देखाएका छन्।
नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारको प्रतिनिधि टोलीले संघीय र प्रदेश सरकारका मन्त्री तथा सचिवसँग भेट गरी साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।
चिनियाँ टोलीले नेपाली व्यवसायीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रियकरण र बजार प्रवर्द्धनका लागि अवसर प्रदान गर्न तयार रहेको प्रतिवद्धता जनाएको छ। टोलीको नेतृत्व उपमहानिर्देशक वान सुपिङ्गले गरेका छन्।
टोलीले वागमती प्रदेश उद्योग मन्त्री विन्दु श्रेष्ठ, स्वास्थ्य मन्त्रालय र संघीय उद्योग मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटघाट गरेको छ। टोलीमा फान गुवालियाङ्ग, हुआङ्ग जिआनजुन, सु जिआन र पिटर चेन लगायतका सदस्य सहभागी थिए।
चिनियाँ व्यवसायी टोलीले साना तथा मझौला व्यवसायी महासंघ नेपालका पदाधिकारी र व्यवसायीसँग छलफल पनि गरेको थियो। वान सुपिङ्गले नेपाली उत्पादनहरूको चीनमा अत्यधिक माग रहेको बताएर बजार विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाए। साथै, सीप तथा प्रविधि आदान–प्रदानमा चासो पनि देखाए।
कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघ नेपालका अध्यक्ष इनु पौडेलले नेपाली व्यवसायीलाई चीनका औद्योगिक मेलामा विशेष प्राथमिकता र सहभागीताका लागि सहजिकरण गर्न आग्रह गरे।
टोलीले नेपाली व्यवसायीका उत्पादन सामग्री अवलोकन गर्नुका साथै ललितपुरको पाटन औद्योगिक क्षेत्रको भ्रमण पनि गरेको थियो।

