भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सामुदायिक वनमा यत्रतत्र छरिएको अवस्थामा ४ सय गाईगोरुका कंकाल भेटियो

सामुदायिक वनमा यत्रतत्र छरिएको अवस्थामा ४ सय गाईगोरुका कंकाल भेटियो

कैलाली । गोदावरी नगरपालिका–९ को लक्ष्मी महिला सामुदायिक वनमा चार सयबढी गाईगोरुका कंकाल फेला परेका छन् । कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा कंकाल फेला परेका हुन् । खेतीपाती नोक्सान गरेको भन्दै वडाध्यक्ष रामलाल रानाको रहोबरमा गत साउन २ गते बसेको बैठकले लक्ष्मी महिला सामुदायिक वनभित्र पशुचौपाया राख्ने निर्णय गरेको थियो ।

सामुदायिक वनभित्र तारबार लगाएर राखिएका पाँच सयभन्दा बढी चौपायामध्ये चार सय बढी मरेका हुन् । सामुदायिक वनमा तारबार गरेर छाडा पशुचौपाया राख्ने र हरेक घरबाट महिनामा एक सय रुपैयाँ उठाएर हेरालु राख्ने निर्णय भएको थियो । वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट एक सय रुपैयाँ संकलन गरेर ६ जना हेरालुसमेत राखिएको लक्ष्मी सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले जानकारी दिइन् ।

मासिक आठ हजार तलबमा राखिएका आठ जना हेरालु थिए । ती पशुलाई चिसोमा बस्ने ओत र खाना नभएपछि मर्न थालेको उनको भनाइ छ । चार सय बढी चौपाया मरेको खबरपछि वडाध्यक्ष राना आत्तिएका छन् । उनले आफूलाई पशुचौपाया मरेको बारे कसैले जानकारी नगराएको बताए । भदौदेखि मर्न थालेका चौपाया माघसम्म निरन्तर मर्ने क्रम नरोकिँदा पनि वडाध्यक्ष रानाले आफूलाई कुनै जानकारी नभएको जिकिर गरे ।

वडा नम्बर ९ को कार्यालय र कान्जी हाउस नदीको वारि–पारि छ । वडा कार्यालयमा एक जना पशु स्वास्थ्यकर्मी पनि छन् । हेरालुले गाई मरिरहेको खबर गाउँभरि फैलाएको स्थानीय बताउँछन् । वडा कार्यालयको लापरवाहीकै कारण पशु चौपाया मरेको स्थानीयको दावी छ । वडा कार्यालयका पशु स्वास्थ्यकर्मी रोशन पन्तले पनि कान्जी हाउसका पशु मरेको कुरा आफूलाई थाहा नभएको जिकिर गरे ।

वडा कार्यालयको भवनमै रहेको पशुपन्छी उपचार केन्द्रबाट कान्जीहाउस बढीमा पाँच सय मिटरको दूरीमा छ । स्थानीय विराज विष्टले कान्जी हाउसमा पशुचौपाया हुलेर राखेको र तिनको उपचार, खाना र ओतको ब्यवस्था नगरिएकाले गौहत्या भएको आरोप लगाए । तारबारभित्र अहिले पनि एक सय २० गाईगोरु राखिएका छन् । ती गाईगोरु मरेका गाई गोरुको सिनो वरिपरि बस्न बाध्य छन् ।

भदौबाट मर्न थालेका पशुचौपाया माघसम्म लगातार मरेको हेरालु नरबहादुर बोहराले बताए । कात्तिक १५ गतेदेखि हेरालुका रूपमा काम गर्न थालेका बोहराले सबैभन्दा बढी गाईगोरु माघमा मरेको बताए । हिउँदको कठ्यांग्रिँदो चिसोमा पशुचौपाया खुला आकाशमै राखिएका थिए भने खानाका लागि कुनै व्यवस्था नै गरिएको थिएन ।

 


Thali Mobile Pvt.Ltd.