भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ

युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ

मुख्य बुँदा

दाङकी सुलोचना शेर्पाले युट्युब हेरेर व्यावसायिक कागती खेती सुरु गरिन्।

११ कट्ठा जमिनमा ३०० बिरुवा रोपेर आधुनिक खेती।

गत वर्ष सबै खर्च कटाएर करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी।

यस वर्ष उत्पादन बढेसँगै २ लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा।

प्राङ्गारिक मल र आधुनिक प्रविधिबाट सफल कृषकको पहिचान।

दाङ,२२ असार । धेरैका लागि युट्युब मनोरञ्जनको माध्यम हुन सक्छ, तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाका लागि यही प्लेटफर्म जीवन बदल्ने पाठशाला बनेको छ। कुनै औपचारिक कृषि तालिम नलिई युट्युबबाट सिकेका सीपका आधारमा उनले आज सफल व्यावसायिक कागती कृषकको पहिचान बनाएकी छन्।

करिब पाँच वर्षअघि मोबाइलबाट कागती खेतीसम्बन्धी भिडियो हेर्न थालेकी सुलोचनाले त्यसबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै घरसँगै रहेको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरिन्।

सुरुआती चरणमा उत्पादन अपेक्षाअनुसार नभए पनि उनले निराश नभई बोटको नियमित हेरचाह, सिँचाइ तथा प्राङ्गारिक मलको प्रयोगलाई निरन्तरता दिइन्। निरन्तरको मेहनतले गत वर्ष सबै खर्च कटाएर करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भइन्।

यस वर्ष भने बगैँचाका अधिकांश कागतीका बोट फलले लटरम्म छन्। उत्पादन उल्लेखनीय रूपमा बढेकाले आम्दानी २ लाख रुपैयाँसम्म पुग्ने अपेक्षा उनले गरेकी छन्।

सुलोचनाले अहिले विभिन्न कृषि सङ्घसंस्था र सरकारी निकायबाट पनि प्राविधिक परामर्श लिन थालेकी छन्। झोल मल, गोठे मल र गड्यौला मलजस्ता प्राङ्गारिक मलको प्रयोगले उत्पादनको गुणस्तर बढ्नुका साथै लागतसमेत घटेको उनको अनुभव छ।

सुलोचनाका अनुसार अहिले गाउँगाउँसम्म सूचना र प्रविधिको पहुँच विस्तार भएकाले सामाजिक सञ्जाललाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप सिक्ने माध्यमका रूपमा उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ।

उनको सफलताले प्रविधिको सही प्रयोगले कृषि क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन सम्भव रहेको सन्देश दिएको छ।

 


Thali Mobile Pvt.Ltd.