भर्खरै : Sorry, your browser does not support inline SVG.

यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन

यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन

मुख्य बुँदा

बाढी, पहिरो र सडक मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित।

बीपी राजमार्ग र कुलेखानी–फर्पिङ सडकखण्ड पूर्ण रूपमा बन्द।

रुकुम पश्चिमको भेरी करिडोर र पर्वतको भित्री सडक पनि अवरुद्ध।

भोजपुर, स्याङ्जा र रोल्पाका केही सडक एकतर्फी सञ्चालनमा।

यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह।

सोमबार बिहानसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन्।

बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी (बीपी राजमार्ग) सम्भावित बाढीको जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ। त्यस्तै, मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मतका कारण पूर्ण रूपमा अवरुद्ध छ।

सम्बन्धित निकायका अनुसार मर्मत कार्य सम्पन्न नभएसम्म उक्त सडकमा सवारी सञ्चालन हुने छैन।कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा पर्ने भेरी करिडोर असार १७ गतेको बाढीपछि अझै पूर्ण रूपमा अवरुद्ध रहेको छ।

गण्डकी प्रदेशमा पर्वतको फलेवास नगरपालिका–९ अन्तर्गत भंगरा–थापाठाना भित्री सडक पहिरोका कारण पूर्ण रूपमा बन्द छ। यद्यपि स्याङ्जाको वालिङ–हुवास भित्री सडकमा पहिरो हटाइएपछि एकतर्फी सवारी सञ्चालन गरिएको छ।

लुम्बिनी प्रदेशको रोल्पास्थित घोराही–रुकुम सहिद मार्ग पनि पहिरोका कारण प्रभावित बनेको भए पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। यस्तै, कोशी प्रदेशको भोजपुरमा बाढीले प्रभावित मध्य पहाडी लोकमार्गमा पनि एकतर्फी सवारी सञ्चालन गरिएको छ।

वैकल्पिक मार्गसमेत प्रयोग गर्न सकिने अवस्था रहेको सम्बन्धित निकायले जनाएको छ। प्रहरी तथा सम्बन्धित निकायले वर्षायाममा लामो दूरीको यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.