नेपाल राष्ट्र बैंकद्वारा दशैँका लागि सुकिला नोट वितरण शुरु

नेपाल राष्ट्र बैंकद्वारा दशैँका लागि सुकिला नोट वितरण शुरु

मुख्य बुँदा

दशैँका लागि सुकिला नोट सटही आजदेखि सुरु

सटही असोज १० गतेसम्म जारी रहने

नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली र प्रदेश कार्यालयहरूमा व्यवस्था

बैंक तथा वित्तीय संस्थाबाट समेत सटही गर्न सकिने

यसपाली पाँच रुपैयाँको नयाँ नोट पनि वितरण

अघिल्लो वर्षदेखि दशैँका लागि नयाँ नभइ सुकिला नोट वितरण गर्ने प्रचलन

काठमाडौँ, २९ भाद्र । दशैँको अवसरमा आजदेखि सुकिला नोट सटही सुरु भएको छ। नेपाल राष्ट्र बैंकले आउँदो असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ।

जेन–जीको प्रदर्शन र उत्पन्न विषम परिस्थितिका कारण केही समस्या भए पनि राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा भौतिक क्षति न्यून भएकाले नोट सटही सहज रूपमा सञ्चालन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीमा रहेको मुद्रा व्यवस्थापन विभाग, साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा व्यवस्था गरिएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि नोट सटही गर्न सकिने व्यवस्था छ।

यसपाली पाँच रुपैयाँ दरको नोट नयाँ समेत वितरण गरिनेछ। ग्राहकहरूले आफ्नो खाता रहेको बैंक वा नजिकको बैंक, वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षदेखि दशैँका लागि नयाँ नभइ सुकिला नोट वितरण सुरु गरेको हो। यसवर्षको बडादशैँ, अर्थात् टिकाको मुख्य दिन, आउँदो असोज १६ गते बिहीवार परेको छ।

 


Thali Mobile Pvt.Ltd.