काठमाडौँ, ९ असार । देशमा वर्षायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम व्यापक रूपमा बढेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ।
रसुवा, मनाङ, हुम्ला र डोल्पा बाहेकका सबै जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको हो। पछिल्ला ६ महिनामा मात्रै १ हजार ४ सयभन्दा बढी व्यक्तिमा डेङ्गी पुष्टि भएको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी सङ्क्रमण बागमतीमा (३७१ जना), त्यसपछि कोशी (२९९), गण्डकी (२५१), लुम्बिनी (२४५), सुदूरपश्चिम (१८४), कर्णाली (३२) र मधेश प्रदेशमा २१ जनामा पुष्टि भएको महाशाखाले जनाएको छ।
डेङ्गीका लक्षणहरूमा उच्च ज्वरो, टाउको, घाँटी, आँखा दुखाइ, हाडजोर्नी तथा मांसपेशीको पीडा समावेश हुन्छ। डाक्टरहरूका अनुसार ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ जातका लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्छन्, र त्यही लार्भाबाट विकसित हुने लामखुट्टेको टोकाइबाट डेङ्गी सर्छ।
यी लामखुट्टे खासगरी बिहान र साँझ सक्रिय हुने भएकाले त्यतिबेला विशेष सतर्कता आवश्यक हुन्छ। महाशाखाले देशभरका पालिकाहरुलाई लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिइसकेको छ। साथै, डाक्टरहरूले पानी जम्न नदिने, सरसफाइमा विशेष ध्यान दिने र डेङ्गीको लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएका छन्।
