भद्रपुर, ९ असार । झापास्थित मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको ९१.५६ प्रतिशत हो।
चालु आवको लागि १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयाे । अघिल्लो आव २०८०-८१ को सोही अवधिमा भने लक्ष्यको मात्र ७७.५६ प्रतिशत राजस्व संकलन भएको थियो।
चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट सबैभन्दा धेरै — ८ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ (६०.८१%) राजस्व उठाइएको छ।
अन्य स्रोतहरूमध्ये:
तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार
यातायातका साधन र पाटपुर्जा आयातबाट ४० करोड ७४ लाख ५० हजार
खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार
कफीबाट २१ करोड ५४ लाख ७० हजार
दलहनबाट २० करोड ७७ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको हो।
यस अवधिमा २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी, ४० अर्ब ७७ करोड ६ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व उठाइएको छ।
