भर्खरै : Sorry, your browser does not support inline SVG.

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

काठमाण्डौ, १४ साउन । राहदानी विभागले विद्युतीय राहदानी ९ई–पासपोर्ट०को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ ।

विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेपछि विभागले उत्पादन क्षमता बढाएको हो । विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख छ ।

विभागका अनुसार पछिल्लो एक हप्तायता विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा बढेको छ । त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भैरहेको विभागले जनाएको छ । विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अरु प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ्दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढिरहेको छ ।

आउँदा दिनमा सेवाग्राहीको आवश्यकता अनुसार सेवा थप विस्तार गरिने योजना पनि विभागले सार्वजनिक गरेको छ । पछिल्लो समय सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्यालाई एक महिनाभित्र समाधान गर्ने र तीन महिनाभित्र प्रणालीलाई पूर्ण रूपमा स्थिर बनाउने लक्ष्यसहित आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको विभागले जनाएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, उपचार, पारिवारिक तथा अरु अत्यावश्यक प्रयोजनका लागि तत्काल राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइनेछ ।रासस

 


Thali Mobile Pvt.Ltd.