भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

देवघाटधाम क्षेत्रको सरसफाइमा जुटे युवा

देवघाटधाम क्षेत्रको सरसफाइमा जुटे युवा

भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् ।

फोहरका कारण पवित्र धार्मिक तीर्थस्थल प्रदूषित जनाउँदै गएकाले नियमित सरसफाइ गरिएको ‘वे’ ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले बताए । उनले देवघाट प्रवेशद्वार आँपटारीदेखि झोलुङ्गे पुलसम्मको क्षेत्रमा सरसफाइ गरिएको बताए । माघे सङ्क्रान्ति पर्व पनि नजिकिँदै गएकाले देवघाट क्षेत्रलाई सुन्दर र सफा राख्न सफाइ अभियान चलाइएको उनले जानकारी दिए ।

हप्ताको एकदिन एकछिन समाजको लागि भन्ने अभियानका साथ चार जनाले सुरु गरेको अभियानमा अहिले सयौँ युवा जोडिएका छन्, उनले भने, “सरसफाइ अभियानले टोलटोलमा जागरण ल्याएको छ ।” युवाले फोहर टिप्दै गाउँघरमा हिँडेपछि मानिसमा सचेतना फैलिएको सुनाए । पछिल्लो समय सङ्गठित फोहर कम भएको भन्दै हरेक टोलमा सरसफाइ अभियान चलेको बताए ।

उनका अनुसार २०७३ साल जेठ २४ गतेबाट सरसफाइ वातावरण संरक्षण अभियान थालिएको हो । सार्वजनिक ठाउँमा फोहर फाल्न हुँदैन भन्ने मानसिकता अझै परिवर्तन नभएको भन्दै उनले गाडीमा यात्रा गर्दा वा पैदलयात्रा गर्दा जथाभावी फोहर नफाल्न अनुरोध गरे । सार्वजनिकस्थलमा अझ फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उनले घरबाटै फोहर व्यवस्थापन गर्न नसक्दा सार्वजनिकस्थलमा जथाभावी फोहर फालिएको सुनाए ।

महानगरपालिका, नगरपालिका र पालिकाले आआफ्नो व्यवस्थित डम्पिङसाइट बनाउने हो भने फोहर उचित व्यवस्थापन हुने अध्यक्ष कँडेलको भनाइ छ । ग्रुपका सदस्य भविलाल चापागाईंले व्यक्ति सचेत हुने हो भने फोहर नहुने बताए । प्रत्येक घरले आफ्नो घरको फोहरको व्यवस्थापन गरेनन् भने कही पनि सफा नहुने उनको भनाइ छ । उनले भने, “हामीले जानीजानी पनि फोहर गरिरहेका हुन्छौँ । प्रत्येक घरले आफ्नो घरको फोहर व्यवस्थापन गरेन भने कही पनि फोहर हुँदैन ।”

सार्वजनिक ठाउँमा महानगरले फोहर व्यवस्थापनसम्बन्धी बोर्ड राखे फोहर व्यवस्थापनमा अझ सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । देवघाट क्षेत्रमा धार्मिक गतिविधिका फोहर बढेको भन्दै सबै नागरिक सचेत बन्नुपर्ने बताए । देवघाटका स्थानीय बुद्धिसागर न्यौपानेले धार्मिकस्थल आउँदा पनि मानिसले फोहर फाल्न नछाडेको बताए । ज्ञानको कमी भएर पनि कतिपय मान्छेले धार्मिकस्थलमा फोहर फाल्छन्, उनले भने, “जथाभावी फोहर फाल्नेलाई कारबाही गर्नुपर्छ ।” उनले युवाले जसरी सरसफाइ गरेका छन् हरेक नागरिकले त्यसरी नै आआफ्नो दायित्व सम्झेर घरघरमा फोहर व्यवस्थापन गर्नुपर्ने बताए । रासस

 


Thali Mobile Pvt.Ltd.