भर्खरै : Sorry, your browser does not support inline SVG.

डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक महिलाको मृत्यु, ६ जना घाइते

सारांश

  • डोल्पाको गैरीगाउँमा शनिबार राति आएको बाढीमा परी एक महिलाको मृत्यु भएको छ ।
  • घटनामा ६ जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
  • प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी उद्धार तथा क्षति विवरण संकलनमा परिचालित भएका छन् ।

काठमाडौं, २१ असार । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षापछि धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो ।

बाढीमा परेर घाइते भएकी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको उद्धारपछि उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिएका छन् ।

घटनामा स्थानीय ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीय निरुता विक, १३ वर्षीय सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन् । उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ ।

स्थानीयका अनुसार बाढीले करिब १५ देखि १६ मिटरसम्म बगाएकाले घाइतेहरूको ढाड, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो । साथै, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप पाँच जना, नेपाली सेनाका १० जना तथा सशस्त्र प्रहरी बलका ११ जना घटनास्थलमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिएकी छन् ।

प्रहरीका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.