भर्खरै : Sorry, your browser does not support inline SVG.

सारांश

  • बेलायत र फ्रान्सले हर्मुज स्ट्रेटमा सुरक्षित जहाज आवतजावतका लागि सैन्य बल तैनाथ गर्ने घोषणा गरेका छन् ।
  • इरानले हर्मुज स्ट्रेट क्षेत्रबाहिरका शक्तिको सैन्य गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ ।
  • तटीय देशहरूले नै हर्मुज स्ट्रेटको सुरक्षा सुनिश्चित गर्नुपर्ने इरानको भनाइ छ ।

एजेन्सी । हर्मुज स्ट्रेटमा सैन्य बल तैनाथ गर्ने बेलायत र फ्रान्सको निर्णयप्रति इरानले कडा चेतावनी दिएको छ ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले बेलायत र फ्रान्सले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिपछि प्रतिक्रिया दिँदै हर्मुज स्ट्रेट क्षेत्रबाहिरका शक्तिका लागि सैन्य प्रदर्शन गर्ने स्थान नभएको बताएका हुन् ।

बेलायत र फ्रान्सले संयुक्त विज्ञप्तिमार्फत हर्मुज स्ट्रेटलाई विश्व अर्थतन्त्रको महत्वपूर्ण समुद्री मार्गका रूपमा उल्लेख गर्दै जहाजहरूको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न सैन्य बल परिचालन गर्ने जानकारी दिएका थिए । साथै, उनीहरूले ओमानसहित क्षेत्रीय साझेदारसँग सहकार्य गरेर समुद्री सुरक्षालाई थप मजबुत बनाउने योजना पनि सार्वजनिक गरेका छन् ।

बीबीसी फारसीका अनुसार घरिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत बेलायत र फ्रान्सको कदमप्रति असन्तुष्टि जनाउँदै इरान क्षेत्रीय सुरक्षाप्रति जिम्मेवार राष्ट्र भएको र हर्मुज स्ट्रेटको सुरक्षाको ग्यारेन्टरको भूमिकामा रहेको बताएका छन् ।

उनले हर्मुज स्ट्रेटको सुरक्षा तटीय राष्ट्रहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस संवेदनशील जलमार्गमा हुने कुनै पनि बाह्य सैन्य गतिविधिप्रति इरान सतर्क रहेको बताएका छन् । साथै, कुनै पनि दुस्साहसको परिणामका लागि सम्बन्धित पक्ष स्वयं जिम्मेवार हुने चेतावनी पनि दिएका छन् ।

यसअघि ब्लुमबर्गले स्रोतहरूलाई उद्धृत गर्दै केही प्रमुख युरोपेली देशले हर्मुज स्ट्रेटबाट जहाजहरूको सुरक्षित आवागमनका लागि इरान र ओमानलाई शुल्क तिर्ने विषयमा सहमति जनाएको दाबी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.