धनगढीमा विवादीत चर्चमा डोजर चल्यो, व्यवसाय दर्ता समेत खारेज

धनगढीमा विवादीत चर्चमा डोजर चल्यो, व्यवसाय दर्ता समेत खारेज

धनगढी । धनगढीमा विवादीत चर्च हटाइएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनामा उपमहानगरपालिकाले डोजर चलाएको हो । सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको भेटिएपछि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ ।

छालाको अस्पताल सञ्चालन गर्ने भनेर बनाइएको भवनमा चर्च सञ्चालन गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्। स्थानीय र मण्डलीका व्यक्तिबिच विवाद बढेपछि अभद्र व्यवहार मुद्दामा कैलाली प्रहरीले मण्डलीका धनगढी उपमहानगरपालिका–८ बस्ने ४७ वर्षीय वीरबहादुर डङ्गौरा, स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २४ वर्षीय पुकार विक र सोलुखुम्बु दुधकोशी गाउँपालिका–७ का ३४ वर्षीय प्रेमदोर्जे राईलाई पक्राउ गरेको छ।

लेट मी इनले नवनिर्मित भवनमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालनका लागि २०८० साउन २२ गते वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो। त्यस्तै नेपाल लाइफ वल्र्ड मिसनले सेमिनार, तालिम आदि सञ्चालन गर्ने भन्दै २०८१ वैशाख १६ मा वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो।

लेट मी इन धनगढी प्रालि र नेपाल लाइफ वल्र्ड मिसनको व्यवसाय दर्ता पनि खारेज गरेको छ । यी दुई वटै संस्थाले दर्ता गरेकोभन्दा विपरीत त्यस भवनमा इसाई धर्मावलम्बीको मण्डली सञ्चालन गरिएको पाइएको छ। सरकारी निकाय र आसपासका सर्वसाधारणसमेतलाई झुक्याएर मण्डली सञ्चालन गरिएपछि स्थानीय आक्रोशित बनेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सार्वजनिक स्थानमा वादविवाद, हातपात, अभद्र व्यवहार गरेको भन्दै स्थानीय राजेन्द्र चन्दले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सा पासबिना निर्माण गरेको पाइएको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.