भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

११ सय अत्याधुनिक क्यामेराबाट पाँचौं राष्ट्रिय बाघ गणना शुरु

११ सय अत्याधुनिक क्यामेराबाट पाँचौं राष्ट्रिय बाघ गणना शुरु

काठमाण्डौ, १ पुष । मंगलबारदेखि देशभर पाँचौं राष्ट्रिय बाघ गणना औपचारिक रूपमा शुरु भएको छ। हरेक चार वर्षमा गरिने बाघ गणनाको औपचारिक उद्घाटन चितवनको सौराहामा कार्यक्रम आयोजना गरी गरिएको हो।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भू–संरक्षण विभागको समन्वयमा बाघ गणना सञ्चालन भइरहेको छ। यसमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ।

गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत निकायहरू सहयोगीका रूपमा परिचालित छन्। विभागका अनुसार २ सय ५० जना प्राविधिक कर्मचारी देशभर खटाइएका छन् र साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

बाघ गणनाका लागि १ हजार १ सय अत्याधुनिक क्यामेराहरू प्रयोग गरिनेछ। क्यामेराबाट सङ्कलित बाघका तस्बिरको विश्लेषण गरी सङ्ख्या यकिन गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिनुभयो। पाँचौं राष्ट्रिय बाघ गणनाको नतिजा आउँदो चैत महिनामा सार्वजनिक गरिनेछ।

बाघ गणनालाई चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्स गरी तीन खण्डमा विभाजन गरेर वैज्ञानिक विधिबाट सम्पन्न गरिँदैछ। यसका लागि झन्डै २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारीसमेत गरिएको छ। गत वर्ष बजेट अभावका कारण गैँडा गणना रोकिएको थियो।

 


Thali Mobile Pvt.Ltd.