भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

“रारा तालको काखमा चलचित्र समिट: कर्णालीको प्राकृतिक सौन्दर्यलाई पर्दामा उतार्ने नयाँ युगको शुरुवात”

“रारा तालको काखमा चलचित्र समिट: कर्णालीको प्राकृतिक सौन्दर्यलाई पर्दामा उतार्ने नयाँ युगको शुरुवात”

जुम्ला । नेपालकै स्वर्ग मानिने रारा तालको काखमा पहिलो पटक सम्पन्न भएको रारा चलचित्र पर्यटन जलवायु समिट ले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको नयाँ केन्द्र बनाउने सपना बोकेको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन सम्भावनाले भरिपूर्ण मुगुको रारा क्षेत्रमा आयोजित यो महोत्सवले कर्णालीको प्रवर्द्धनमा ऐतिहासिक पाइला टेकेको सहभागीहरूले बताएका छन् ।

चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न यो समिटमा बोर्डका अध्यक्ष दिनेश डीसी, चर्चित निर्देशक दीपाश्री निरौला र लोकप्रिय अभिनेता प्रदीप खड्कालगायत फिल्म क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। समिटले पर्यटक भित्र्याउने मात्र नभई कर्णालीलाई चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्यको रूपमा विश्वमाझ चिनाउने उद्देश्य लिएको जनाएकाे छ ।

बोर्ड अध्यक्ष डीसीले नेपालको सांस्कृतिक र प्राकृतिक सुन्दरतालाई समेटेर चलचित्र मार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने दीर्घकालीन लक्ष्यसहित देशका विविध भौगोलिक क्षेत्रहरूमा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले पूर्वाधार विकास, नीति निर्माण र प्रणालीगत सुधारका माध्यमबाट कर्णालीको जस्तै अन्य क्षेत्रहरूमा पनि छायांकनमैत्री वातावरण बनाउन पहल हुँदै गरेकाे जानकारी दिए । 

रारा छायाँनाथ नगरपालिकाका मेयर विष्णु कुमार भामले समिटले राराको पर्यटकीय र सांस्कृतिक छवि उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने “चलचित्रले रारालाई नयाँ उचाइमा पु-याउन सक्छ, यदि सडक, होटल र हवाई सेवा जस्ता पूर्वाधारमा ध्यान दिइयो भने।”

नायिका दीपाश्री निरौलाले पहिलो पटक कर्णालीको भ्रमण गर्दा यहाँको अपार सम्भावना देखिएको बताइन्। “नेतादेखि राज्यसम्मले सधैँ कर्णालीलाई गरिबीको चश्माबाट हेरे,” उनले भनिन्, “तर यहाँको कृषि, जडिबुटी, पर्यटन र जलविद्युतमा रहेको समृद्धिको सम्भावना देशकै मुटु बन्न सक्छ।”

यो समिटसँगै नेपाल चलचित्र विकास बोर्डले अन्य स्थानमा पनि फिल्म निर्माणसँग सम्बन्धित गतिविधिहरू सञ्चालन गरिरहेको छ। काठमाडौँमा ‘महिला फिल्म बनाउँछन्’ कार्यशालाले महिला निर्देशक र प्राविधिकहरूलाई सशक्त बनाउने अभियान थालेको छ भने पोखरामा ‘लाइट, क्यामेरा, एक्सन’ कार्यक्रमले युवा चलचित्रकर्मीलाई प्रशिक्षण दिइरहेको छ।

त्यस्तै, दोलखामा थामी समुदायको परम्परागत विवाह संस्कारको वृत्तचित्र छायांकन हुँदैछ, जसले लोपोन्मुख सांस्कृतिक सम्पदाको दस्तावेजीकरण र संरक्षणमा योगदान दिनेछ। इलाममा बाल चलचित्र महोत्सव आयोजना हुने तयारीमा छ भने बनेपामा अत्याधुनिक इनडोर छायांकन स्टुडियो निर्माणको प्रक्रिया अघि बढिरहेको छ।

रारामा पर्यटककाे संख्या वृद्धि गर्न पूर्वाधारमा चुनौतीहरू भने अझै विद्यमान छन्। कर्णाली राजमार्ग, नाग्म–गमगडी सडकको स्तरोन्नति, उपयुक्त होटलको अभाव र हवाई सेवाको असहजताले पर्यटकीय आकर्षण घटाएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ।

यति हुँदाहुँदै पनि, रारा चलचित्र पर्यटन जलवायु समिटले कर्णालीको कथा विश्वभर पुर्‍याउने एउटा सशक्त प्रयासको थालनी गरेको छ। राराको सौन्दर्यलाई सेल्युलोइडमा कैद गर्दै पर्यटन, संस्कृति र समृद्धिको साझा यात्रा सुरु भएको विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.