काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं, ४ असार  । बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका ३१ जिल्लाका स–साना नदी र खोलामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ । यद्यपि निरन्तर वर्षाका कारण स–साना नदीमा बहाव बढ्न सक्ने सम्भावना रहेको जनाएको छ ।

आज गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङका स–साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलालगायत जिल्लाका स–साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार साउन ५ र ६ गते पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ । नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक सावधानीका उपाय अवलम्बन गर्न अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.