भर्खरै : Sorry, your browser does not support inline SVG.

१२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

१२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, ५ साउन । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको जनाएको छ। यद्यपि, विभिन्न १२ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार सोमबार बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव सामान्य अवस्थामा रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि नियन्त्रणमै रहेको जनाइएको छ।

यद्यपि, आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा, बैतडी तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले साउन ६ र ७ गते पनि कोशी, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र बाढीसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन महाशाखाले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.