भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

खोक्सिकका विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान

खोक्सिकका विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान

भोजपुर, ६ जेठ । जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा विपन्न दलित परिवारलाई लक्षित गर्दै निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरिएको छ । वर्षौँदेखि अँध्यारोमा बस्न बाध्य परिवारलाई उज्यालोको पहुँचमा ल्याउने उद्देश्यले वडा कार्यालयले अभियान अघि बढाएको हो ।

वडाध्यक्ष बाचकुमार राईका अनुसार हालसम्म आठ विपन्न दलित परिवारको घरमा निःशुल्क विद्युत् जडान गरिएको छ । आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको उनले बताए । “वडाका विपन्न परिवारको घरमा निःशुल्क विद्युत् जडान गरिदिएका छौँ,” वडाध्यक्ष राईले भने, “आर्थिक समस्याका कारण अँध्यारोमा बस्न बाध्य परिवारलाई उज्यालो दिनु हाम्रो सानो प्रयास हो ।”

उनका अनुसार विद्युत् सेवा पुगेपछि स्थानीयवासीको दैनिक जीवन सहज बनेको छ । बालबालिकाको पठनपाठन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको वडा कार्यालयको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । वडाले आगामी दिनमा पनि विपन्न तथा लक्षित वर्गका लागि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

स्थानीयवासीले समेत वडाको पहलप्रति खुसी व्यक्त गरेका छन् । विद्युत् सेवा उपलब्ध भएपछि साँझपखको अँध्यारो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासी सुदर्शन गहतराजले बताए । “आर्थिक अभावका कारण घरमा विद्युत् जडान गर्न सकेको थिइनँ,” उनले भने, “वडाको सहयोगपछि घरमा उज्यालो बलेको छ, अहिले दैनिक कामकाज गर्न सहज भएको छ ।”

अर्का स्थानीय मानबहादुर विश्वकर्माले पनि घरमा विद्युत् जडान भएपछि बालबालिकाको अध्ययनमा सहजता आएको बताए । वडाले गरेको सहयोगले विपन्न बस्तीमा समेत उज्यालो पुगेको उनको भनाइ छ । वडा कार्यालयका अनुसार हालसम्म वडामा विद्युत् विस्तारको काम करिब ९८ प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी रहेका घरधुरीमा पनि विद्युत् जडान गरी ‘उज्यालो वडा’ घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.