काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनन्जय रेग्मीले सुगौली सन्धिको कपी सार्वजनिक रूपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालको सीमा समस्या बुझ्न सुगौली सन्धिको अध्ययन आवश्यक रहेको बताए । परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित बैठकमा सांसद रेग्मीले भने, “बोर्डरको समस्या के हो ? सुगौली सन्धि के रहेछ ? हामीले पढ्न पाएनौँ । त्यसको कपी कहाँ छ ? पढ्न पाए धेरै कुरा थाहा हुन्थ्यो ।”
बैठकमा उनले नेपालमा ‘रिसर्चर भिसा’ को व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याए । हाल विदेशी अनुसन्धानकर्ता पर्यटक भिसामै नेपाल आउने गरेको उल्लेख गर्दै उनले छुट्टै अनुसन्धान भिसा व्यवस्था गर्न आग्रह गरे ।
“नेपालमा रिसर्चर भिसा दिने अभ्यास छैन । अनुसन्धानकर्ता टुरिस्ट भिसामा आउने गरेका छन्,” उनले भने, “रिसर्चर भिसा उपलब्ध गराउन सके उनीहरूको सम्मान पनि बढ्छ र अनुसन्धानका लागि प्रोत्साहनसमेत मिल्छ ।” सांसद रेग्मीले विदेशमा रहेका नेपाली नागरिकको वास्तविक तथ्यांक संकलन गरेर नीति निर्माण गर्नुपर्नेमा पनि जोड दिए । गैरआवासीय नेपाली, वैदेशिक अध्ययनमा गएका विद्यार्थी तथा विदेशबाट बाहिरिने रकमको यथार्थ विवरण आवश्यक रहेको उनको भनाइ थियो ।
“एनआरएनको संख्या कति छ ? कति विद्यार्थी विदेश गएका छन् ? कुन च्यानलबाट कति पैसा बाहिरिएको छ ? यी सबै तथ्यांकको अध्ययन गरेर समस्या पहिचान गर्न सकिन्छ,” उनले भने, “हामीले रेमिटेन्स आएको मात्रै हेरेका छौँ, गएको पक्षलाई गम्भीर रूपमा हेरेका छैनौँ ।”
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबारको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना तथा चालु कार्यक्रमबारे छलफल भइरहेको छ ।
