भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

हुम्लाको नेप्का गाउँमा बाढी, विद्यालय र गोठ पुरिए

हुम्लाको नेप्का गाउँमा बाढी, विद्यालय र गोठ पुरिए

सुर्खेत, ६ जेठ । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढीले विद्यालय भवन, गोठ तथा भेडाबाख्रा पुरिएको प्रारम्भिक विवरण आएको छ । भीषण वर्षापछि आएको बाढीका कारण गाउँमा ठूलो धनमालको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शंकर खड्काका अनुसार मंगलबार राति करिब पौने ११ बजेतिर भारी वर्षापछि बाढी आएको हो । बाढीले स्थानीय विद्यालय भवन, भेडाबाख्राका गोठ तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । ‘नेप्का गाउँ सदरमुकामबाट निकै टाढा र मुगुसँग सिमाना जोडिएको विकट बस्ती हो,’ उनले भने, ‘अहिलेसम्म प्राप्त विवरणअनुसार विद्यालय भवन, गोठ र खेतीयोग्य जमिन पुरिएको छ । केही घरमा पनि आंशिक क्षति पुगेको खबर आएको छ ।’

घटनामा हालसम्म मानवीय क्षति नभएको र स्थानीय बासिन्दा सुरक्षित रहेको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ । यद्यपि, सडक पहुँच नपुगेको विकट भूगोल भएका कारण घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

प्रहरीका अनुसार बुधबार बिहानै प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । सदरमुकामबाट करिब पाँच घण्टा सवारी यात्रा र त्यसपछि करिब छ घण्टाको पैदल दूरी पार गरेपछि मात्रै नेप्का पुग्न सकिने भएकाले उद्धार तथा अनुगमनमा समय लाग्ने भएको हो ।

चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बाढीका कारण चारवटासम्म गोठ पुरिएको र ६० भन्दा बढी भेडाबाख्रा हराएको जानकारी दिए । साथै, एउटा विद्यालय भवनमा पनि क्षति पुगेको उनले बताए ।

‘अन्य ठाउँमा खासै पानी परेको थिएन, हावाहुरी मात्रै चलेको थियो,’ अध्यक्ष शाहीले भने, ‘तर नेप्का क्षेत्रमा मात्रै केन्द्रित भएर ठूलो वर्षा र असिना परेको देखिन्छ ।’ स्थानीय तहका अनुसार घटनाको विस्तृत क्षति विवरण संकलन कार्य जारी छ । दुर्गम भूगोलका कारण प्रहरी र जनप्रतिनिधिलाई घटनास्थल पुग्न अझै समय लाग्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.